ताप्लेजुङमा झण्डै ३ अर्बकाे आलु उत्पादन

ताप्लेजुङमा झण्डै ३ अर्बकाे आलु उत्पादन


ताप्लेजुङ ।

ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेका छन्।

एक वर्षको अवधीमा ताप्लेजुङमा ५५ हजार २ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको हो ।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।

आव २०७८/७९ मा ५५ हजार १ सय ७६ मेट्रिक टन अर्थात् ५ करोड ५१ लाख ७६ हजार किलोग्राम आलु उत्पादन भएको थियो भने आव २०७९/८० मा १ लाख २१ हजार किलोग्राम बढी आलु उत्पादन भएको छ। ताप्लेजुङमा आव २०७९/८० मा ४ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको ज्ञान केन्द्रले जनाएको छ।

आव २०७८/७९ मा भने ४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो। आव २०७९/८० मा आलुको उत्पादकत्व १२.९५ मेट्रिक टन प्रति हेक्टर रह्यो। आव २०७८/७९ मा उत्पादकत्व १२.९४ मेट्रिक टन प्रति हेक्टर थियो।

राम्रो आलु प्रतिकिलो ६० रुपैयाँ सम्ममा नै बिक्री हुने गरेको छ ।

सरदर ५० रुपैयाँ किलोका दरले ताप्लेजुङमा उत्पादित आलुको कूल मूल्य २ अर्ब ७६ करोड ४८ लाख ५० हजार रुपैयाँ हुन आउँछ।

ताप्लेजुङमा उत्पादनको सुरुमा सालाखाला ४० देखि ५० रुपैयाँ प्रतिकिलोग्रामका दरले आलु बिक्री हुने गरेको छ। प्रतिकिलो ५५ देखि ६० रुपैयाँ सम्ममा आलु बिक्री हुने गरेको छ। यो हिसाबले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेको देखिन्छ।