उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन, सार्वजनिक सूचना जारी

उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन, सार्वजनिक सूचना जारी


झापा ।

भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका १ महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ ।

नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताइन् ।

उनका अनुसार यही भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर–७ को फुलबारी टोलस्थित सडकको छेउमा सबैले देख्ने ठाउँमा अन्दाजी १४ दिनको पूर्ण स्वस्थ शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । हाल उक्त शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि पोषण गृहमा राखिएको छ ।

हरियो कपडामा सुताइएको, सेतो पञ्जा लगाइएको, निधारमा कालो टीका लगाइएको, टिसर्ट र टोपी लगाइदिएको अवस्थामा उक्त शिशुलाई भेटाइएको थियो । छिटो उद्धार होस् भन्ने मनसायले मानिसको प्रशस्त ओहोरदोहोर हुने सडककै छेउमा कसैले शिशुलाई छाडेर गएको हुनसक्ने उपप्रमुख कार्की बताउछिन् ।

स्थानीय बाल अधिकार समितिको बैठक बसेर शिशुका अभिभावक पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिँदै उपप्रमुख कार्कीले सूचना जारी भएको २ दिन वितिसक्दासमेत अहिलेसम्म दाबी गर्न कोही पनि नआएको बताइन् । “डाक्टरहरुले परीक्षण गर्दा शिशु स्वस्थ रहेको भन्नुभएको छ”, उनले भनिन्, “शिशुका बुबाआमा र अभिभावक प्रमाणसहित आउनुभयो भने उहाँहरुलाई नै शिशु जिम्मा लगाउँछौं ।”

बेवारिसे शिशु फेला परेको हुँदा पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्ति स्थानीय बाल अधिकार समितिको सम्पर्कमा आएको समेत उपप्रमुख कार्कीले जानकारी दिइन् । धर्मपुत्रका रुपमा पालनपोषण गर्न चाहने व्यक्ति डाक्टर, इञ्जिनीयर, प्राध्यापकसमेत रहेको उनले बताइन्।