कहाँ रोकियो ट्राफिक लाइटमा पनि नरोकिने द्रुत बस ?

कहाँ रोकियो ट्राफिक लाइटमा पनि नरोकिने द्रुत बस ?

अहिलेसम्म लेन मार्किङ पनि सुरु भएन


प्रतीकात्मक तस्बिर ।

काठमाडौँ ।

आगामी असोज १ गतेदेखि सुरु गर्ने भनिएको बस र्‍यापिड ट्रान्जिट (बिआरटी) अन्तर्गतकाे द्रुत बस सेवा आवश्यक पूर्वाधार तयार नहुँदा समयमै सञ्चालन हुनेमा आशंका सुरु भएको छ ।

यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम कुनै पनि निकायबाट सुरु भएको छैन । यसमा विशेष गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात व्यवस्था विभाग बढी जिम्मेवार निकाय हुन् ।

सडक विभागको जिम्मामा डेडिकेटेड लेनमा मार्किङ गर्ने, ट्राफिक लाइट राख्ने, चिह्नहरू राख्ने, डिभाइडरको व्यवस्था गर्नेलगायत काम छन् भने द्रुत बस सेवा सञ्चालनका लागि समय सीमा तोक्ने, भाडादर तोक्ने, बस कम्पनीसँग सम्झौता गर्ने, स्टप तोक्नेलगायत काम यातायात व्यवस्था विभागको हो ।

तर, लेन मार्किङको जिम्मेवारी पाएको सडक विभागले आफ्नो काम सुरु नगर्दा मुख्य समस्या देखिएको छ । द्रुत बस सेवा सञ्चालन गर्ने डेडिकेटेड लेन र अन्य पूर्वाधारमा काम सुरु नै नगर्दा समयमै उक्त बस सेवा सञ्चालन हुने छाँटकाँट देखिएको छैन ।

यसका लागि सडक विभागको काम सकिएपछि मात्र अन्य निकायको काम सुरु हुन्छ । द्रुत सेवाका बसहरूलाई कुनै पनि ट्राफिक लाइटले रोक्ने छैन भने निर्धारण गरिएको स्थानमा मात्र चढ्न र ओर्लिन पाइनेछ ।

सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका निर्देशक तथा यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु पनि सडक विभागका कारण काम सुरु हुन नसकेको बताउँछन् ।

उता, सडक विभागले भने वर्षाका कारण आफ्नो जिम्मेवारीअन्तर्गतका कामहरू हुन नसकेको बताएको छ । अहिले तिनकुने–बनेश्वर सडकखण्डमा भइरहेको पुनर्निमाणले पनि यसका लागि समय लाग्ने देखिएको छ ।

यो सडकखण्डको मर्मतको काम नियमितअन्तर्गत परे पनि यसको पुनर्निर्माण बिआरटीकै लागि भएको देखिन्छ । यो सडकखण्डको निर्माण नसकिँदासम्म यहाँ द्रुत बस सेवा सञ्चालन गर्न पनि समस्या पर्ने देखिन्छ ।

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराईको कार्यकालमा सुरु भएको यो योजना उनको सरुवासँगै सुस्ताएको राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर बताउँछन् ।

भट्टराई साउन २३ गतेदेखि यातायात विभागको महानिर्देशकको जिम्मेवारीमा छैनन् । प्रधानमन्त्री कार्यालयको पहलमा यो आयोजनालाई अघि बढाउने निर्णय भए पनि जिम्मेवार निकायले समयमै काम सुरु नगर्दा यसको समय सीमा पर धकेलिने निश्चितजस्तै छ ।

केही गरी समयमै काम सम्पन्न भएको अवस्थामा भने बस सेवा दिन यातायात व्यवसायीहरू तयार देखिन्छन् । द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै रुट लिने योजनामा यातायात व्यवसायीहरू छन् । यसका लागि व्यवसायीहरू आन्तरिक गृहकार्यमा पनि छन् ।

सुरुआती चरणमा यसलाई तत्कालका लागि सूर्यविनायकदेखि रत्नपार्कसम्म नमुनाका रूपमा सञ्चालन गर्ने र यसले सफलता पाउन सकेको अवस्थामा पछि रिङरोडसहित अन्य ठाउँमा पनि विस्तार गर्ने सम्भावना रहेको अध्यक्ष स्वाँर बताउँछन् ।

तर, दीर्घकालीन रूपमा यसलाई सञ्चालन गर्न भनेर सरकारको साथ र सहयोग चाहिने उनले बताए । उनले भने, ‘अहिले भएकै सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिरहेको अवस्थामा अरूतिर हात हाल्ने बाटोमा हामी छैनौँ । यसका लागि सरकारसँग सहकार्य नै गर्ने हो ।’

ट्रायल फेजका लागि सुरुमा बिहान र बेलुकीको अफिस टाइममा ३÷३ घन्टा सेवा सञ्चालन गर्ने तयारी रहेको महासंघका अध्यक्ष स्वाँरले बताए । यसका लागि डेडिकेटेड बसको व्यवस्थापन हुने र त्यो बस निर्धारण गरिएको लेनमा मात्र सञ्चालन हुनेछ ।

व्यवसायीहरू यसलाई तत्काल परीक्षणका रूपमा लिने र दिगो रूपमा सञ्चालन गर्न सरकारसँगको सहकार्यमा पिपिपी मोडलमा पनि जान सकिने बताउँछन् ।

‘यातायात व्यवसायीले मात्र ठुलो धनराशि लगानी गर्न सक्ने अवस्था छैन । यसका लागि प्रविधि र लगानीको आवश्यकता रहेकाले यसमा सरकारको पनि उत्तिकै लगानी हुनुपर्छ’, उनले भने, ‘भविष्यमा यसमा हुन सक्ने जोखिम बहन गर्न व्यवसायीलाई सरकारले सघाउनुप¥यो, हामी सेवा दिन तयार छौँ ।’