समयमा काम सक्ने कार्ययोजना बनाउनुहोस्,अब म्याद थप्ने काम हुन्न : मन्त्री बस्नेत

समयमा काम सक्ने कार्ययोजना बनाउनुहोस्,अब म्याद थप्ने काम हुन्न : मन्त्री बस्नेत


सुर्खेत ।
भेरी बबई डाइभर्सनको काम समयमै पूरा नभए सरकारले म्याद नथप्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

आइतबार आयोजनाको स्थलगत अनुगमनपछि उनले तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थमौती नगर्ने बताए ।

उनले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम आगामी २ वर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

स्थलगत अनुगमनपछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी दुई वर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिए ।

‘डाइभर्सनको काम चाहेजसरी अगाडि बढ्न सकेको छैन, आगामी २ वर्षभित्रमा आयोजनाको काम सक्नेगरी कार्ययोजना बनाउनु पर्यो’मन्त्री बसनेतले भने, ‘कार्ययोजना अनुसार काम भए नभएको रिपोर्टअनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन ।’

आयोजना प्रभावीत क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथाशीघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । ‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्न हुँदैन, प्रक्रिया पुगेका नागरिकका फाइल अघि बढाइ मुआब्जा लिन वञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस्,’ बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुँदैन ।’