एकपटक जानैपर्ने तीर्थ– शिवधारा

एकपटक जानैपर्ने तीर्थ– शिवधारा


नेपाल आफैँमा पुण्यभूमि हो । मेचीदेखि महाकालीसम्म अनगन्ती हिमाल पहाडहरू छन् । हरेक स्थानमा देवीदेवताको बासस्थान छ ।

नेपालको पूर्वी जिल्ला संखुवासभा जिल्ला धार्मिक तथा प्राकृतिक सम्पदाले सम्पन्न छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित `शिवधारा´ विश्वकै नमुना तीर्थ हो, जहाँ साक्षात शंकर भगवानको दर्शन हुन्छ ।

खाँदबारीबाट गाडीमा करिब ५ घन्टा हिँडेपछि नुम पुगिन्छ । नुमबाट पैदल यात्रा गर्नुपर्छ, अत्यन्तै ओरालो बाटो झरेपछि अरुण गंगा पुगिन्छ । अरुणपारिको लामो उकालो पार गरी सेदुवा-च्याख्सेडाँडा-टासीगाउँ हुँदै यात्रा गर्नुपर्छ ।

सुन्दर हरियाली, खोला, खोल्सा हेर्दै, चराचुरुंगीको सुमधुर संगीतमा रमाउँदा आनन्द प्राप्त हुन्छ । बाटोमा बास बस्न क्याम्पहरू छन् । डाँडाखर्कको उकालो पार गरेपछि खोङमा पुगिन्छ । शेर्पा बन्धुहरूको प्रेमपूर्ण स्वागतले भावुक बनाउँछ ।

बाटोमा धेरै पोखरीहरू भेटिन्छन्- सानोपोखरी, ठुलोपोखरी आदि । विभिन्न प्रजातिका फूल फुलेका, जताततै पहाडमा पानी बगिरहेको देखिन्छ । दोबाटेदेखि जाँतेओढार हुँदै अत्यन्तै लामो पहिरो पार गरेपछि वरुण गंगाको तीरबाट हिमालको दर्शन गर्दै याङ्ले पुगिन्छ ।

याङ्लेबाट वरुण पार गरेर पहाड चढ्नुपर्छ, हेर्दा डरलाग्दो पहाड छ । पानी बगिरहेको, चिप्ला ढुंगा, फलामको साङ्लोमा झुण्डिदै, मनमा (ॐ नमः शिवाय) जप्दै अगाडि बड्दा मनमा त्रास र भक्ति दुवै उत्पन्न हुन्छ । शिवको गुफा छेउमा सुन्दर धारो देखिन्छ । साक्षात् शिवले नै अभिषेक गरिरहेकाेजस्ताे दृश्य देखिन्छ । भक्तले स्नान गर्न तयार भएपछि जल आफैँ आएर शिरमा बर्सिन्छ । त्यो दृश्य देख्दा मनको गति नै रोकिन्छ ।

पासैमा गणेश गुफा छ । पहाड नै भगवान गणेशको मूर्ति रहेछ । अलिक पर माता पार्वतीको गुफा छ, गुफाभित्र माताको दर्शन गर्न सकिन्छ । बाहिर सुन्दर झरनाहरू छन् ।

टाढाबाट हेर्दा पहाड नै भगवानको प्रतिमूर्ति देखिन्छ । माता पार्वतीले तपस्या गरी शिवलाई प्राप्त गरेको स्थान हो याे । जुनसुकै कामना राखी शिवधारामा स्नान र दर्शन गरे पनि मनोकामना पूर्ण हुने जनविश्वास छ ।

त्यहाँबाट तल झरी वरुण नदीलाई नछोडी तादसा-लाम्गाले- मिरेक हुँदै दुग्धकुण्ड/दूधपोखरी पुगिन्छ, शास्त्रीय दृष्टिकोणमा अत्यन्तै पवित्र गंगा, वरुणको शिरमा मकालु हिमालको दर्शन हुन्छ । वरुणको जलले स्नान गरेर गंगामै भएको चन्दन लगाउँदा भगवानलाई प्राप्त गरेरको अनुभूति हुन्छ ।

लगभग ८ देखि १० दिनको पैदल यात्रामा सम्पन्न हुने शिवधारा र दूधकुण्ड (दुधपोखरी) यात्राले मानवलाई विशेष ऊर्जा प्राप्त हुन्छ । नेपालमा रहेका यस्ता दिव्यधामहरूको प्रचारप्रसार आवश्यक छ । एकपटक दर्शन गर्न शिवधारा जाऊँ । हरहर महादेव ।