पुल्चोक–गोन्द्राङ ६ लेन सडक : ३ वर्षमा ७० प्रतिशत काम, वर्षा र खानेपानीका पाइप बने बाधक

पुल्चोक–गोन्द्राङ ६ लेन सडक : ३ वर्षमा ७० प्रतिशत काम, वर्षा र खानेपानीका पाइप बने बाधक


चितवन ।

वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक निर्माणको काम प्रभावित बनेको छ ।

नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “४–५ दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिंग गर्न नमिलेको उनले जानकारी दिए ।

यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए ।

यस आर्थिक वर्षका लागि ५ करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उनले कात्तिक महिनामा बजेट माग गरिने बताए ।

हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो । कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ । नयाँ सम्झौताअनुसार आगामी मंसीरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ ।

१ अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक ६ लेनमा विस्तारको काम भइरहेको हो । सडक निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले वर्षात् र खानेपानीका पाइपका कारण कामलाई तीव्रता दिन नसकिएको बताए । छिट्टै कामलाई तीव्रता दिने उनको भनाइ छ ।

कम्पनीसँग आवश्यक उपकरण, जनशक्ति र कच्चा पदार्थ रहेकाले पानी पर्न रोकिएसँगै कामले तीव्रता पाउने उनले बताए ।

भरतपुर र नारायणगढको मुख्य सहरी क्षेत्र हुँदै जाने सडक निर्माण प्रभावित भएपछि यहाँको व्यवसाय पनि प्रभावित बनेको छ । व्यवसायीहरूले यथाशीघ्र काम अघि बढाउन दबाब दिँदै आएका छन् ।