मल्लकालीन ढुंगेधारामा अहिले पनि झर्छ पानी, स्थानीयलाई भने ट्यांकरकाे भर !

मल्लकालीन ढुंगेधारामा अहिले पनि झर्छ पानी, स्थानीयलाई भने ट्यांकरकाे भर !

'सरकारले पिउन याेग्य बनाइदिए केही हदसम्म समस्या समाधान हुन्थ्याे'


ललितपुर ।

ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुंगेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।

सौगल टोलको ढुंगेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, ‘पानी फोहोर भएको कारणले नखाइदिनुहोला ।’ ऐतिहासिक ढुंगेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा हप्तामा २ दिन पानी आउँछ । स्थानीयबासीले ट्यांकरको पानी प्रयोग गरिरहेका छन् ।

२०१५ सालमा राजा महेन्द्रले धारालाई पुनःनिर्माण गरेपछि ढुंगेधारा प्रयोगमा आएको इतिहास छ । ढुंगेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउँछन्- सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य ।

‘पहिले हामी ढुंगेधाराकै पानी प्रयोग गर्थ्याैँ । अहिलेको जस्तो ट्यांकरको पानी प्रयोग हुँदैनथ्यो । ढुंगेधाराको पानी पिउन र कपडा धुनका लागि टोलबासीलाई प्रशस्त पुग्थ्यो,’ उनी सम्झिन्छन् ।

पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुंगेधारामा पानी आउन नै बन्द हुन्छ ।

करिब ३ महिना जति ढुंगेधारा सुक्खा अवस्थामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयबासी वैद्य बताउँछन् ।

पाटन दरबार क्षेत्र आसपासको टोलमा धेरै राणाकालीन ढुंगेधारा छन् । ती ऐतिहासिक धारामा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुंगेधारामा पुनःनिर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ ।

तीव्र रूपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुन सक्ने स्थानीयबासी रवीन्द्रनारायण मानन्धर बताउँछन् । उनी भन्छन्, ‘ढुंगेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ । त्यसकारण दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।’

मल्लकालीन समयको ऐतिहासिक ढुंगेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकका लागि पनि ढुंगेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धारा छन्  तर ती धाराको पानी पिउन मिल्दैन । ढुंगेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयबासीको आग्रह छ ।