तस्करले ढुंगा हान्दा नगर प्रहरी गम्भीर घाइते

तस्करले ढुंगा हान्दा नगर प्रहरी गम्भीर घाइते


नवलपरासी ।

(बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीबाट ढुंगा गिट्टी चोरी गर्न गएको समूहको आक्रमणबाट महिला नगर प्रहरी गम्भीर घाइते भएकी छिन् ।

अवैध ढुंगा गिटी चोरी नियन्त्रणका लागि सोमबार राति गिरुवारी खोलामा ड्युटीमा खटिएकी नगर प्रहरी जवान यममाया मल्ललाई तस्करले ढुंगाले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

हुप्सेकोट–४ स्थित गिरुवारी खोलामा खटिएका ४ जना नगर प्रहरीलाई देख्नासाथ तस्करले आक्रमण गरेको भन्दै उनले आक्रमणमा परी अर्का नगर प्रहरी सुजन महतो पनि घाइते भएको जानकारी दिए । तर उनले टाउकोमा हेल्मेट लगाएकाले गम्भीर चोट लाग्न पाएन ।

घाइते मल्ललाई उपचारका लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएकोमा उपचार हुन नसकेपछि जहाजमार्फत न्युरो अस्पताल काठमाडौँ ल्याइएको छ ।

नगर प्रहरीलाई आक्रमण गर्ने ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए । आक्रमणमा सामेल १ जना फरार रहेको र उनको पनि खोजी भइरहेको उनले बताए ।