ओ सरकार ! रेजिशालाई पनि त राधा बन्ने रहर थियो होला नि !

ओ सरकार ! रेजिशालाई पनि त राधा बन्ने रहर थियो होला नि !

उपचार नगरी बालिका मार्ने देशका मन्त्री भन्छन्– स्वास्थ्यप्रति संवेदनशील छु


काठमाडौँ ।

आज कृष्णजन्माष्टमी । हरेक घरका सानासाना छोराछोरी राधा र कृष्णको भेषमा सजिए, शृंगार गरे, रमाए । आफ्ना छोरा–छोरी राधा–कृष्ण बनेको देखेर आमाबाबु दंग छन् । फेसबुकमा तस्बिर र भिडियो सेयर गरेका छन् । एक हिसाबले सामाजिक सञ्जाल, घर–टोल, स्कुल सबैतिर बालबालिकाको यो रूपले रंगिएको छ, रमाएको छ ।

०००

आजै यसरी राधा–कृष्ण बनेर संस्कृतिबारे सिक्ने र रमाउने धेरै बच्चा जन्माउने थलोका रूपमा परिचित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको टिकट बुकिङका लागि अनलाइन सेवाको सुरुआत भयो । अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा अनलाइन टिकटिङ सेवा सुरु गरिएको हो ।

वार्षिकोत्सव समारोहलाई भर्चुअल सम्बोधन गर्दै देशका स्वास्थ्यमन्त्रीले यो सुविधाले सेवाग्राहीलाई सहज हुने बताए । यस्तै उनले कुपण्डोलस्थित नवनिर्मित अस्पतालको भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।

‘बिरामीको चापलाई मध्यनजर गर्दै औषधि पसल थप, अनलाइन टिकटिङ र क्युआर कोडमार्फत भुक्तानी र १० बेड रहेको एनआइसियूलाई २० बेड बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ,’ उनले भने ।

०००

देशभरका बालबालिका बिरामी हुँदा उपचारका लागि आउने ठाउँ– कान्ति बाल अस्पताल । आस्थाको केन्द्र । अभिभावकको भरोसाको केन्द्र ।

त्यही अस्पतालमा उपचारका लागि ल्याइएकी मकवानपुर थाहा नगरपालिका– १० की ५ वर्षीया रेजिशा गोपालीले गत सोमबार अस्पतालको दैलोमै ज्यान चढाउनुप¥यो ।

धेरै अस्पतालमा धेरै पटक सुनिने वाक्य हो– अलिकति ढिलो ल्याउनुभो, अलि चाँडै भएको भए बचाउन सकिन्थ्यो, वी आर सरी…

यहाँ अवस्था यस्तो थिएन, उपचारका लागि ल्याएको २ घन्टासम्म बालिकाले उपचार त परको कुरा सामान्य जाँचको सुविधासम्म पाइनन् ।

काठमाडौँकै बाफल बस्ने गोपालीको परिवारले रेजिशालाई निरन्तर बान्ता हुने र ज्वरो आउने भएपछि अस्पतालको इमर्जेन्सीमा पु¥याए । सानी नानीलाई उपचार गराएर निको बनाएर घर लिएर जाने भरोसामा आएका आमा र हजुरबुबालाई अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए ।

रेजिशा छटपटाइरहेकी थिइन्, तर त्यो देख्ने उनकै आमा र हजुरबाबाहेक कोही भएनन् । मानौँ– त्यहाँ कार्यरत कर्मचारीका लागि एउटा बच्चा उपचार नपाएर मर्नु सामान्य घटना हो, यस्ता घटना यहाँ भइरहन्छन् ।

बिचरा जीवन र मृत्यु के हो भन्नेसम्म नबुझेकी अबोध बालिकाले सास रोकिन नदिन अनेक प्रयास गरिन् । हजुरबाको काखमा सुतेकी उनले ‘मलाई गाह्रो भयो बा !’ भन्ने भावले हेरिरहिन् । हेरिमात्र रहिन्, वाक्य फुटेन । वाक्य फुटेकै भए पनि हुने के थियो र आखिर ! हजुरबा र आमाले सक्ने भए त घरमै उपचार गरिहाल्थे, किन अस्पतालसम्म ल्याउनुपथ्र्यो र !

बच्चाको कतिबेला मृत्यु हुन्छ र वी आर सरी… भनौँ भनेर कुरेर बसेको अस्पताललाई उनको पीडा किन दुख्थ्यो, दुखेन । हजुरबाले दुखाइ कम गर्दिनुहोला भन्ने भावले काखमा सुतेर छटपटाइरहेकी उनले आँखा चिम्लिइन् ।

०००

माथिका ३ वटै प्रसंग एकअर्कामा सम्बन्धित छन् । रेजिशालाई पनि त आज अरू साथीहरूजस्तै राधा बनेर सिँगारिन मन थियो होला । बाँसुरी बोकेको कृष्ण कालेको छेउमा उभिएर फोटो खिचाउन मन थियो होला । अनि बेलुका घर आएर हजुरबालाई ‘हेर्नु त हजुरबा म कस्ती देखिएको छु राधा बन्दा’ भनेर फोटो देखाउन मन थियो होला । तर, यो अपराधी राज्यले ती नानीलाई राधा बन्ने सपना पूरा हुनै दिएन ।

नेपालमा दैनिक हजारौँ बच्चा जन्मिन्छन्, हजारौँ मानिस मर्छन् पनि । तर, रेजिशाको मृत्यु केवल मृत्यु होइन, यो हत्या हो । राज्यद्वारा गरिएको नृशंस हत्या, नियोजित हत्या । होइन भने अस्पताल पुगेर २ घन्टासम्म उपचार नै सुरु नहुने अवस्था कसरी बन्यो ? यसको जिम्मेवार को हुने ?

देशको एउटा ठुलो सरकारी अस्पताल, जसको तालुकदार नेतृत्व स्वास्थ्य मन्त्रालय हो । त्यसको नेतृत्व गरिरहेका छन् मोहनबहादुर बस्नेत ।

तिनै बस्नेत माननीयले आज भने– प्रसूति गृहको अनलाइन टिकटिङका कारण सेवाग्राहीलाई सहज हुन्छ । बस्नेतजी, बच्चा जन्माउने ठाउँमा अनलाइन टिकट काटेर, सहज रूपमा बच्चा जन्माएर पनि के गर्नु ? त्यही बच्चा उपचारका लागि तिम्रो अस्पतालमा छटपटाइरहँदा उपचार नगरी उ मर्ने साइत हेरेर बस्छौ तिमी ।

रेजिशा गोपाली यो संसारबाट बिदा भएर गइन् । यो राज्यका लागि बलि चढेर गइन् । हिन्दुहरूले विशेष गरी दसैँमा पशुबलि दिने परम्परा छ । तर यो राज्यले, यसको नेतृत्व गर्नेहरूले, स्वास्थ्यमन्त्रीले दसैँअघि नै एउटी अबोध बालिकाको बलि दिएका छन् ।

यति हुँदा पनि नैतिकता देखाउनुको सट्टा यो देशको स्वास्थ्यमन्त्रीलाई बाल छैन, प्रधानमन्त्रीलाई बाल छैन । अझै स्वास्थ्यमन्त्री भन्दै छन्– नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील छ ।
प्रसंग फरक होला, शैली फरक होला । तर म पनि भन्छु– यो सरकार चोर हो, हत्यारा हो ।