पालिका अध्यक्षले रोके अनुदान र सिफारिस, राजनीतिक प्रतिशोध साँधेकाे आराेप

पालिका अध्यक्षले रोके अनुदान र सिफारिस, राजनीतिक प्रतिशोध साँधेकाे आराेप


स्याङ्जा ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले व्यक्तिगत आबेगका आधारमा सिफारिस रोक्का गर्दा पालिकाका झण्डै ४ हजार ५ सय किसान मर्कामा परेका छन् ।

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी मार्फत पाउँदै आएको अनुदान र सिफारिस अध्यक्ष तिवारीले मनोमानी रुपमा रोकेपछि किसानहरु सेवाबाट बञ्चित हुँदा मर्कामा परेका हुन् ।

सहकारीले गाउँपालिका ६ वटा वडा मध्ये ५ वटा वडामा कृषक समूह गठन गरी प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । २ हजार ६ सय ७ शेयर सदस्य रहेको सहकारीमा थप २ हजार किसानले सेवा लिदै आएका थिए । सहकारी मार्फत पाउँदै आएको अनुदानमा कटौती र सिफासि रोकेपछि किसानहरु सेवाबाट बञ्चित भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ बाट पालिका र सहकारीको साझेदारीमा शुरु भएको पशु बीमा, टनेल तथा बीउविजन वितरण, सहकारी शिक्षा, अध्ययन अवलोकन भ्रमण, सुत्केरी स्याहार र मृत्यु संस्कारमा पाउँदै आएको अनुदान सेवा रोक्का भएको छ भने सुपथ मुल्यमा पाउँदै आएको रासायनिक मल खरिद तथा बिक्री वितरणको सिफारिस अध्यक्ष तिवारीले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकबाट सबै सेवा रोक्का गरेका छन् ।

“पालिकासँगको सहकार्यमा टनेल तथा बीउविजन वितरण, सुपथ मुल्यमा रासायनिक मल बिक्री वितरण गर्दै आएका थियौं ।” सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले भने, “पालिकाका अध्यक्ष तिवारीको मनोमानीले सेवा अबरुद्ध गर्दा किसानहरुले पाउँदै आएको ऋणमा ब्याज छुट, बाख्रा पकेट कार्यक्रम र भैसी तथा बंगुर प्रर्बद्धन कार्यक्रम प्रभाबित भएको छ ।”

गाउँपालिकाले उपलब्ध गराउने सेवा अबरुद्ध गरेपछि सहकारीले आफ्नै आन्तरिक कोषबाट विगत १० महिनादेखि किसानहरुलाई सेवा प्रबाह गर्दै आएको जनाएको छ । व्यक्तिगत आबेगमा आएर सेवा रोक्का गर्नुको सट्टा नीतिगत रुपमा सेवा रोके आफूहरुलाई मान्य हुने सहकारीमा आबद्ध किसानहरुले बताएका छन् ।

ग्रामीण स्वावलम्बन सहकारीले सहकारी ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार कार्य सम्पादन नगरेका कारणले गाउँपालिकाले सेवा रोक्का गर्न बाध्य भएको अध्यक्ष तिवारीले दाबी गरे । नियमानुसार स्थानीय पालिकामा कागजात अध्यावधिक गर्नुपर्ने लगाएतका सबै प्रक्रियालाई बलमिच्याँई गरेपछि बाध्य भएर पालिका र सहकारीको साझेदारीलाई अन्त्य गरेको उनले सुनाए ।

स्वावलम्बन सहकारीले गरेको बलमिच्याँई आफूलाई मान्य नहुने र व्यक्तिगत आबेगमा सेवा रोक्का नगरेको जिकिर गरेका गाउँपालिकाका अध्यक्ष तिवारीले पालिकाभित्रका उस्तै प्रकृतिका सहकारी मार्फत किसानहरुलाई सेवा प्रदान गर्दै आएको सुनाए । सेवा नपाएका भनिएका किसानहरुलाई सहकारीजन्य सेवा लिन गाउँपालिका आउन समेत आग्रह गरे ।

सहकारीका संचालक र गाउँपालिकाका अध्यक्षको व्यक्तिगत ईगोका कारण किसान प्रभाबित भएको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ र ५ का वडाध्यक्ष क्रमश धनबहादुर गुरुङ् र बद्रि पौडेलले बताए । आखिर पालिका र सहकारीले स्थानीय किसानको सेवा गर्नुनै छ भने सहकारी मार्फत पाउँदै आएको सेवा रोक्नु राम्रो पक्ष नभएको उनीहरुको तर्क छ ।

पालिकाका सबै सहकारीले लिदै आएको सेवा सुविधा गाउँपालिकाले रोक्का गर्ने औपचारिक कुनै निर्णय गरेकै छैन् । स्वावलम्बन सहकारी मार्फत प्रबाह भएको सेवा अध्यक्ष तिवारीले एकलौटी रुपमा रोक्का गरेको वडा नं. २ का अध्यक्ष तथा पालिकाका प्रवक्ता गुरुङ्ले बताए । सहकारी मार्फत गरेका कामलाई औपचारिक निर्णयबाट रोक्नु पर्यो होईन भने अध्यक्षको मनोमानी बन्द गरेर अगाडी बढ्नुपर्ने गुरुङकाे सुझाब छ ।

काठमाडौंमा व्यवसाय गर्दै आएका नेपाली का‌ंग्रेसबाट टिकट पाएर गाउँपालिकाका अध्यक्ष भएका तिवारीले व्यक्तिगत टकराब र राजनैतिक प्रतिशोधले सेवा अबरुद्ध गरेको स्वावलम्बनकर्मीले आरोप लगाएका छन् । सहकारीमा नेतृत्व गर्नेहरु का‌ंग्रेस निकट भएपनि उनीहरुले निर्वाचनका समयमा पालिका सभापति विष्णुप्रसाद काफ्ले वा रामचन्द्र पौडेलले टिकट पाउनु पर्छ भन्दै आएको तिवारीको ठम्माँई छ । अन्य व्यक्तिलाई टिकटका लागि आन्तरिक लबिङ् गरेको र निर्वाचनमा असहयोग गरेको भनेर तिवारीले सहकारीको सेवा रोकेर सहकारीकर्मी माथि प्रहार गरेको उनीहरुको बुझाई छ ।

गाउँपालिकाले सेवा सुचारु नगरे किसानहरु आन्दोलन गर्ने आन्तरिक तयारीमा जुटेका छन् । अध्यक्ष तिवारीको मनोमानीले दुःख पाएको निष्कर्शमा पुगेका किसानहरुले गाउँपालिकाको कार्यपालिका बैंठकबाट निर्णय गराएर सेवा रोक्न चुनौती थिए । व्यक्तिगत आबेगको मनोमानीलाई अन्त्य गर्न आन्दोलनको बिकल्प नरहेको किसानहरुको सामुहिक भनाई छ ।