अज्ञात रोगका कारण ७९ जना विद्यार्थी एकैपटक बिरामी

अज्ञात रोगका कारण ७९ जना विद्यार्थी एकैपटक बिरामी


बर्दिबास ।

अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिबासका ७९ जना विद्यार्थी एकसाथ बिरामी परेका छन् ।

एक्कासि ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकहरूले आज परीक्षण गरेका थिए ।

परीक्षणक क्रममा ३ जनालाई डेंगु प्रमाणित भए पनि अन्य विद्यार्थीहरूलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए ।

`हाम्रोमा सातौँ सेमेस्टरको परीक्षा चलिरहेको थियो । केही बिद्यार्थीहरुमा त्यतिबेला पनि ज्वरो आएको थियो,´ उनले भने ‘अहिले विद्यार्थीहरुमा व्यापक फैलियो ।´

रोगको विषयमा चिकित्सकहरूले परीक्षण गरिरहेका छन् । बर्सातका कारण दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिएकाे छ । डेंगीकै लक्षण हुन सक्ने पनि चिकित्सकहरुले बताएका छन् ।

२२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछि स्थगन गर्न लगाइएको वडाध्यक्ष पदम आलेमगरले जानकारी दिए ।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी पीडित बनेछि वडाध्यक्ष मगरले आज क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए ।

परीक्षण गरिएका सबै विद्यार्थीमा ज्वरो देखिएको थियो । कतिपयको स्थानीय क्लिनिकमा उपचार भए पनि केहीकाे भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ ।

यसै सम्बन्धमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्ति समेत निकालेको छ ।

विज्ञप्तिमा एक हप्तादेखि दूषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित बनेकाे भन्दै पाँचौँ सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरिएको छ ।

परीक्षा स्थगनका लागि प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले वताए

विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर प्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको बताउँदै वडाध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए ।

यो कलेज बर्दिबास नगरपालिका- स्थित भित्री गाउँमा छ ।