नेपालमा ४१ लाख परिवार कृषिमा , २२ लाख १८ हजार हेक्टर जग्गामा खेतीपाती

नेपालमा ४१ लाख परिवार कृषिमा , २२ लाख १८ हजार हेक्टर जग्गामा खेतीपाती


काठमाडौं ।

नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ ।

कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।

अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।

कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।

यो कृषिगाणनाले यस्ता कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

यसैगरी कृषिगणनाले कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिन्छ ।

तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसरा सिँचाई सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यरी नै सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।

वि.सं. २०१८ सालदेखि हरेक दशरदश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्या‌ंक कार्यालय (साबिकको केन्द्रीय तथ्या‌ंक विभाग) ले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्या‌ंक स‌ंकलन कार्य सम्पन्न गरेको थियो ।

तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्या‌ंक उपलब्ध गराउने उद्देश्य सहित कृषिगणनाको सार कृषि योजनाको पूर्वाधार मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना भएको छ ।

विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्या‌ंक मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्या‌ंक स‌ंकलन गरी प्रकाशन गरिएको छ ।

वैज्ञानिक विधिबाट तीन लाख ३० हजार ११२ कृषक परिवारहरू छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण स‌ंकलनका लागि ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरू सहित करिब सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए ।