सेरेस इभीको ३ भेरियन्ट आउँदै, नेपालकै सस्तो कार हुने अनुमान

सेरेस इभीको ३ भेरियन्ट आउँदै, नेपालकै सस्तो कार हुने अनुमान


काठमाडौँ ।

चिनियाँ ब्रान्ड सेरेसले उत्पादन गरेको मिनी कार ई–१ विभिन्न ३ भेरियन्टमा नेपाल आउने भएको छ ।

कम्पनीले ई–१ लाई वेस, मिड र टप गरी ३ भेरियन्टमा नेपालमा बिक्री सुरु गर्न लागेको हो ।

सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले उक्त मिनी इभी नेपाली बजारमा ल्याएको हो ।

मंगलबारबाट आयोजना हुने नाडा अटो शोमा सेरेस ब्रान्ड लन्च गर्ने योजना छ । नेपालकै सस्तो इलेक्ट्रिक कार हुने अनुमान गरिएको सेरेस ई(१ को मूल्य १३ लाखदेखि १५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

निकै आकर्षक डिजाइनमा देखिएको सेरेस मिनी ईभी नाडा अटो शोको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

विद्युतीय स्केटबोर्ड डिजाइनमा तयार भएको मिनी इभी कम्पनीले फराकिलो र स्मार्ट इन्टेरियर बनाउन खोजेको छ ।

कम्पनीले यसमा १३.८ र १६.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री विकल्पमा दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा १८० देखि २२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

सेरेस मिनी ईभीमा ८.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर सर्पोट गर्छ । दुई ड्राइभिङ मोड, रिजेनेरेटिभ ब्रेकिंग सिस्टम यसमा दिइएको छ ।

सुरक्षाको लागि गाडीमा फ्रन्ट एयर ब्याग, इबीडीसहितको एबीएस, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किंग ब्रेक, सिट बेल्ट, पार्किंग केमेरा र सेन्सर, टिपीएमएस जस्ता फिचर छन् ।