चितवन चिनाउन भ्रमण वर्ष : पर्यटकलाई बाघ र गैँडा देखाएर पठाइने, दियालाे बंगला खाेल्ने तयारी

चितवन चिनाउन भ्रमण वर्ष : पर्यटकलाई बाघ र गैँडा देखाएर पठाइने, दियालाे बंगला खाेल्ने तयारी


चितवन ।

आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमका सहभागीहरूले धारणा राखेका छन्।

भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन्।

स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरूको जोड थियो। कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुष्कर महर्जनले भरतपुरको भ्रमण वर्ष बागमती प्रदेशको समेत भ्रमण वर्ष भएकाले यसलाई सफल बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने बताए।

नेपालमै भौतिक निर्माणमा अग्रणी रहेको भरतपुरमा भ्रमण वर्षमा पर्यटक भित्रिँदै गर्दा यहाँको आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ थियो। भारतीय पर्यटक भित्र्याउनेमा आफूहरू लागिरहेको भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारमा लाग्नुपर्ने बताए।

सोही समयमा बाग्मती प्रदेशले समेत भ्रमण वर्षको आयोजना गरेकाले यहाँको गतिविधिले समग्र प्रदेशलाई नै फाइदा पुग्ने उनको भनाइ छ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षमा विदेशी पर्यटकलाई समेत भित्र्याएर ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताइन्।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर पठाउने गरी तयारी थालेको उनले बताइन्।

पालिकास्तरमा पहिलोपटक भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले कसरी हुन्छ पर्यटक भित्र्याउनेमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरिन्। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर पठाउने गरी तयारी थालेको उनले बताइन्।

ऐतिहासिकस्थल दियालो बंगला खुला गरी हेर्ने वातावरणका लागि गृहकार्य भइरहेको भन्दै उनले ठोरी भन्सार नियमित सञ्चालन गरेर भारतीय पर्यटक भित्र्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिइन्। महानगरले भ्रमण वर्ष मनाउँदै गर्दा प्रमुख सडक मर्मत गरिने भन्दै उनले राष्ट्रियस्तरका गतिविधिहरू भरतपुरमा केन्द्रित गर्न सबैलाई आग्रह गरिन्।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सातवटा मुख्यसहित ३० वटा गन्तव्य रहेको भन्दै भ्रमण वर्षको तयारी तीव्र रुपमा भइरहेको बताए। प्रदेश र संघसँग समन्वय गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समिति बनाएर काम गरिएको उनको भनाइ थियो।

महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिक ३० हजार पर्यटक भित्रिने गरेको भरतपुरमा यो सङ्ख्या दुई लाख पुर्‍याइने बताए। विश्वका ५२ राष्ट्रमा भ्रमण वर्षका बारेमा जानकारी गराइएको उनको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न सुझावहरू दिएका थिए। सन् २०२४ को जनवरीबाट डिसेम्बरसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष मनाइँदै छ।