८१ किमी लामो गण्डक नहरको सफाइ, पानी रौतहटसम्म पुग्न थाल्यो

८१ किमी लामो गण्डक नहरको सफाइ, पानी रौतहटसम्म पुग्न थाल्यो


बारा ।

क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्‍याइएको हो।

नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ। पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ।

विगतमा ११ नं ब्लक बारासम्म मात्र नहरको पानी आउने गरेको थियो। कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिए।

कार्यालयका अनुसार पर्सास्थित नेपाल–भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो। त्यसपछि नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको थियो।

गण्डक नहर क्षतिग्रस्त हुनु अघिसम्म भारतीय पक्षले नहरमा सात सय २४ क्युसेकसम्म पानी दिने गरेको थियो। मर्मतपछि भारतीय पक्षबाट यस वर्ष पानी उपलब्ध गराएपछि नहरको १५ ब्लकसम्म पानी पुगेको हो।

गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गर्दै आएको छ। नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकरी सुरेश साहले जानकारी दिए।

नगर निर्माणपछि सन् १९७५ र १९७६ मा २ चरणमा गरी भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। नवलपरासीको भैसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गरेको छ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ।