पुल छैन ! उर्लिँदाे भेलमा पाैडी खेल्दै विद्यालय पुग्छन् बालबालिका

पुल छैन ! उर्लिँदाे भेलमा पाैडी खेल्दै विद्यालय पुग्छन् बालबालिका


बैतडी ।

पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् ।

सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान बाध्य भएका हुन् ।

उक्त खोलामा रहेको आरसिसी पुल २ वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए । उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका हुन् ।

अस्थायी रूपमा बनाइएको काठेपुल पनि १ महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने बालबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयकी शिक्षिका लक्ष्मी चन्दले बताइन् ।

“उक्त खोलामा रहेको पक्की पुल २ वर्ष अगाडिको बाढीले बगाएको थियो, त्यसपछि अस्थायीरूपमा काठेपुल राखिएको भए पनि एक महिना अगाडिको बाढीले लग्यो”, उनले भनिन्, “लामो समयदेखि खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्छन् । पानी परेपछि खोलामा पानीको बहाव बढेपछि विद्यार्थीलाई आवागमनमा थप सास्ती हुने गरेको छ ।”

उक्त विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका वडाध्यक्ष साउदले बताए । उनले भने, “बैतडी, बझाङ र डोटीको सिमानामा यो विद्यालय छ । पुल बगाएपछि त्यहाँबाट आउने विद्यार्थीसमेत जोखिम मोलेर आउने गरेका छन् ।”

पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए ।

उनले भने, “२ ठाउँमा पुल बनाउने भनेर २० लाख बजेट आएको हो । सर्भे गरियो, निर्माण गर्ने भनेर समिति पनि बन्यो । हालसम्म काम अगाडि बढ्न सकेको छैन ।”

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताए । उनले भने, “पुल निर्माणका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ ।”