माईजोगमाई गाउँपालिकाका अध्यक्षको ठाडो आदेश भन्दै अधिकृत पोख्रेललाई हाजिर गर्न दिइएन

माईजोगमाई गाउँपालिकाका अध्यक्षको ठाडो आदेश भन्दै अधिकृत पोख्रेललाई हाजिर गर्न दिइएन


सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल

इलाम ।

माईजोगमाई गाउँंपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।

पोखरेल आइतबार पालिकाको कार्यालयमा हाजिर हुन मन्त्रालयको पत्रसहित पुग्दा उनलाई हाजिर नगराई फर्काइएकोे हो ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको ठाडो आदेश भन्दै उनलाई हाजिर नगराइएको बताइएको छ । पालिकाका निमित्त कार्यलय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आएका पोख्रेलको रमनापत्र र सरुवापत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको जानकारी दिए । हाजिर नगराएपछि पोख्रेल इलाम फर्किएको बताइएको छ ।

उनले रमाना र सरुवापत्र दर्ता भएपछि हाजिर गराएसरह भए पनि हाजीरी लुकाइएको जानकारी दिए । ताप्लेजुङबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको आइतबार हाजिर हुने अन्तिम दिन थियो । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा रहँदा राम्रो काम गरेका पोख्रेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी माईजोगमाई पठाएको थियो ।

बिवादै बिवादमा रहेको माईजागमाईमा पोख्रेललाई समेत हाजिर नगराइएपछि कार्यालयको काम प्रभावित हुनेभएको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले गाउँपालिका अध्यक्ष पालिका बाहिर रहेको र आफु भएकैबेला हाजिर गराउने भन्ने कुराले हाजिर हुन नसकेको बताइन् ।

केही दिनअघि गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको सरुवा भएको थियो । उनको सरुवा भएलगत्तै गत १८ गते गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईसँग कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएको थियो । सो भिडियोका कारण चर्चामा रहेको गाउँपालिका थप बिवादित बन्दैगएको छ ।