७ करोडको लगानीमा बनेको संरचना सञ्चालनमा नआउँदै बन्यो जीर्ण

७ करोडको लगानीमा बनेको संरचना सञ्चालनमा नआउँदै बन्यो जीर्ण


पाल्पा । लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

तानसेन–७, कैलाश नगरका स्थानीय बासिन्दा बलबहादुर रानाले सांस्कृतिक डबली सञ्चालन गर्ने भनेको डेढ वर्ष बितिसकेको भए पनि अहिलेसम्म सञ्चालन नआएको बताए । उनले भने , “कहिले नगरपालिकाले सञ्चालन गर्ने भन्ने सुनिन्छ, कहिले प्रदेश सरकारले सञ्चालन गर्ने भन्ने सुनिन्छ ।”बनेको डबलीभित्र झार उम्रिएका छन् । संरचनामा समेत क्षति पुगेको छ । तर लामो समयसम्म पनि प्रदेश सरकारले सांस्कृतिक डबली सञ्चालन गर्नेबारेमा निर्णय गर्न नसकेको तानसेन नगरपालिकाले जनाएको छ ।

तानसेनमा सांस्कृतिक डबली बन्नु राम्रो भए पनि लामो समयसम्म सञ्चालन नहुँदा नगरपालिकामाथि पनि प्रश्न उठेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताए । तानसेन नगरपालिकाले डबली सञ्चालन गर्न दिनु भनेर प्रदेश सरकारलाई पत्र पठाए पनि त्यसको जवाफ नआएको उनले उल्लेख गरेका छन् ।

विसं। २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी डेढ वर्षअघि सकिएको थियो । लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली निर्माणको भएको थियो । सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ स्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । तर ती संरचनामा अहिले झार उम्रिएका छन् ।यत्रतत्र फोहोर देखिन्छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण गरिएको छ । सांस्कृतिक डबलीभित्र बसेर पाँच सय जनाले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्छन् ।

सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा वृद्धि हुने भनिए पनि डबली सञ्चालन नहुँदा बनेको संरचना जीर्ण बन्दै गएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । बनेको संरचनाको संरक्षणका लागि पनि तत्कालै सांस्कृतिक डबली सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष भट्टराईले बताए ।