काठमाडाैँमा असाेज ३ देखि ‘रेड लाइट’मा पनि नराेकिने बस

काठमाडाैँमा असाेज ३ देखि ‘रेड लाइट’मा पनि नराेकिने बस


प्रतीकात्मक तस्बिर ।

काठमाडौँ ।

सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए ।

यसअघि सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिए ।

‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भोलि २६ भदौदेखि सुरु गर्छौ,’ उनले भने ।

विभागले २ खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म २ मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ ।

त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

व्यवसायीसँग सहकार्य गरी उनीहरूकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेका २५ वटा बस सञ्चालनमा आउने भएका छन् ।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि बस सेवाका विषयमा केही आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालय समयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म बस सञ्चालन हुनेछ ।