बाढी पहिराेकाे जाेखिमबाट मुक्त भए लुम्साका ३४ परिवार

बाढी पहिराेकाे जाेखिमबाट मुक्त भए लुम्साका ३४ परिवार


जुम्ला।

मुगुको छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।

भवन निर्माण आयोजना जुम्लाका सब-इन्जिनियर चन्द्रबहादुर खड्काले भने, ‘छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका-९ स्थित चिमाथमा बस्ती सारिएको छ ।’

घर स्थानान्तरणका लागि संघीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर ५ लाखका दरले सो वडाका घरहरू निर्माण गरिएको आयोजनाका सब-इन्जिनियर खड्काको भनाइ छ ।

विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिममा थियो । पटक-पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ती स्थानान्तरण भएको स्थानीयवासी पूर्णचन्द्र विश्वकर्माले बताए ।

उनले भने, ‘मलगायत यहाँका स्थानीयबासीले अहिले नयाँ घर पाएका छाैँ । बाढी पहिरोबाट घर जोखिममा छैनन् । राम्रोसँग घरमा बस्न पाएका छाैँ । यो नमुना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका-१२ लुम्सा गाउँका स्थानीयबासीमा खुसी छाएको उक्त गाउँका स्थानीय बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।