म्याद सकिन लाग्दा सिटी हल निमार्णको काम ५५ प्रतिशत मात्र

म्याद सकिन लाग्दा सिटी हल निमार्णको काम ५५ प्रतिशत मात्र


भरतपुर ।

चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मंसिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

काम सम्पन्न हुन अझै १ वर्ष लाग्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताए । “फागुनसम्म काम नसकिए दोस्रो पटक म्याद थप्नुपर्ने हुन्छ”, उनले भने– “भवन निर्माण गर्न आर्थिक अभाव छैन । विदेशबाट निर्माण सामग्री ल्याउनुपर्ने भएकाले बढी समय लागेको हो ।”

निर्माण आयोजनाका इन्जिनीयर सुदन खतिवडाका अनुसार हाल सिटी हल भित्रको काम भइरहेको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको ४ बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ ।

२ हजार व्यक्ति अट्न सक्ने क्षमताको सिटी हल निर्माणको लागत ८७ करोड ८९ लाख रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबीच २०७७ मंसिरमा सम्झौता भएको थियो ।

सिटी हलमा सानो र ठूलो गरी २ वटा हल रहने छन् । सिटी हल बनेपछि भरतपुरमा ठूलासभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ ।