सोतीखोला खानेपानी आयोजना : ३ ठाउँमा लिफ्टिङ ट्यांकी, ४४२ घरधारामा पानी

सोतीखोला खानेपानी आयोजना : ३ ठाउँमा लिफ्टिङ ट्यांकी, ४४२ घरधारामा पानी


गोरखा ।

गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब ४४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ ।

सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबा लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिए ।

“आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ”, उनले भने, “करिब ५ सय घरघुरीमा खानेपानी वितरण गर्ने आयोजनाको लक्ष्य रहेको छ ।”

शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित सोती खोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो । “मूलबाट ३ ठाउँमा लिफ्टिङ ट्यांकी निर्माण गरी उपभोक्तालाई आयोजनाले खानेपानी वितरण गर्दै आएको छ”, उनले भने, “मूलबाट डिप्लिङ खोरियामा १ लाख ५० हजार, रातोमाटेमा १  लाख र मुख्य वितरण गर्ने शिखरआहाल डाँडामा २ लाख लिटरको ट्यांकी निर्माण गरी पानी वितरण गरिएको हो ।”

आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत २ करोड ८४ लाख ७१ हजार ५५५ खर्च भएको अध्यक्ष कुँवरले जानकारी दिए ।