पूर्वाधार छैन, द्रुत बसको ‘स्टन्ट’

पूर्वाधार छैन, द्रुत बसको ‘स्टन्ट’

उपत्यकाकाे ट्राफिक व्यवस्थापन झन् भद्रगोल हुने चिन्ता


काठमाडौँ ।

३ असोज अर्थात् संविधान दिवसको दिनदेखि काठमाडौँ उपत्यकमा द्रुत बस सेवा सञ्चालन हुँदै छ । १ असोजदेखि सञ्चालन गर्ने पूर्वतयारी भए पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसकै दिनदेखि सञ्चालन गर्न निर्देशन दिएका थिए । द्रुत बस सेवा अहिले सूर्यविनायकबाट रत्नपार्क र रत्नपार्कबाट सूर्यविनायकसम्म सञ्चालन हुनेछ ।

बस सेवा सञ्चालनका लागि आवश्यक तयारी करिब अन्तिम चरणमा पुगेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिएका छन् । यसका लागि अब सडकको डेडिकेटेड लाइनमा मार्क गर्ने काम मात्र बाँकी छ । त्यो पनि अहिले रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म २ खण्डमा विभाजन गरेर धमाधम काम भइरहेको छ ।

उता, यातायात व्यवस्था विभागबाट भने बसको छनोट र रुट परमिट दिने काम बाँकी नै छ । यसका लागि शुक्रबार यातायात व्यवस्था विभागमा व्यवसायीसँग छलफल हुँदै छ । छलफलमा व्यवसायीहरूले द्रुत सेवाका लागि गाडीहरूको विवरण बुझाउनेछन् । त्यसपछि विभागले कुन–कुन गाडी चलाउने भनेर टुंगो लगाउने छ ।

केही दिनअघि मात्र यातायातमन्त्री ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग यसबारे छलफल पनि गरेका थिए । पहिलो चरणमा करिब ४० सिट क्षमता रहेका २० देखि २५ वटा बस यस रुटमा सञ्चालन गर्ने सरकारको तयारी छ । हाल व्यवसायीसँग सहकार्य गरी उनीहरूकै बस सञ्चालन गर्न लागिएको हो ।

बस सञ्चालनका लागि बिहान र साँझ कार्यालय समय निर्धारण गरिएको छ । बिहानको ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म डेडिकेटेड लाइनमा यो बस सेवा सञ्चालन हुनेछ ।

अहिलेकै पूर्वाधारमा छैन सम्भव

सूर्यविनायक–कोटेश्वर र कोटेश्वर–माइतीघर सडक खण्ड ६ लेनको छ भने माइतीघरबाट रत्नपार्कसम्मको सडक खण्ड ४ लेनको छ । यो अवस्थामा डेडिकेटेड लाइनका लागि अतिरिक्त २ लेन छुट्याउँदा सडक झन् साँघुरो हुने निश्चित छ ।

योजनाअनुसार उक्त डेडिकेटेड लाइनमा बिहानको ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म कुनै पनि यातायात सञ्चालन गर्न पनि पाइँदैन । पिक आवरमा सडक झन् साँघुरिँदा यसको प्रत्यक्ष असर ट्राफिकदेखि यात्रुसम्म पर्छ । ट्राफिक एकाइ कोटेश्वरका अनुसार कोटेश्वरमा मात्र पिक आवरमा हजारौँको संख्यामा सवारीसाधन आवतजावत हुन्छन् ।

ट्राफिक प्रहरी कार्यालय भने सडक विभागको लेन व्यवस्थापन कस्तो हुने हो भन्ने कुरा पर्खेर बसेको छ । तर, अहिलेकै अवस्थामा ट्राफिक व्यवस्थापन गर्न समस्या हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन् ।

‘अहिले नै भएको लेनमा मिलाएर एउटा लेन थप्ने सडक विभागको तयारी छ । अब समस्या कस्तो आउला भनेर भनिहाल्ने अवस्था पनि छैन । तर, अहिलेकै अवस्थामा चाहिँ ट्राफिक व्यवस्थापन असहज हुने देखिएको छ,’ उनले भने, ‘तर पनि अहिले नै केही भनिहाल्न मिल्दैन, अवस्था हेरेर व्यवस्था गर्ने काम हुन्छ ।

राजनीतिक स्टन्ट कि दीर्घकालीन योजना ?

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएको बुझिन्छ । तर, यो योजना सुरुमा प्रधानमन्त्री कार्यालयबाट विभाग र व्यवसायीसमक्ष आएको थियो ।

सरकारको यो योजना कतै स्टन्टबाजी त होइन ? भन्ने प्रश्न पनि उत्तिकै छ । किनकि अहिलेकै पूर्वाधार अपुग भइरहेको अवस्थामा द्रुत बसका लागि भनेर भएकै सडकबाट २ लेन छुट्याउने र अन्य सवारीसाधनका लागि सडक झन् साँघुरो बनाएपछि कसरी प्रभावकारी हुन्छ भन्ने प्रश्न अहम् छ ।

यसका लागि लामो अध्ययन र पूर्वतयारी गर्नुपर्ने हो । तर, केही महिनामै यसको सफलता चाख्ने सरकारको योजनामा पूर्वाधारले काँडेबार लगाउने पक्का छ ।

सडक यातायातका लागि अहिले भएको पूर्वाधार नै अपुग भइरहेको अवस्थामा काठमाडौँको यो साँघुरो सडकले द्रुत बस सेवा कसरी धान्छ ? यिनै विषयले गर्दा पनि यसलाई नयाँ योजनाको नाममा कतै नेताको स्टन्टबाजी त होइन ? भन्नेतर्फ आशंका गर्ने ठाउँ प्रशस्त छ ।

‘सार्वजनिक यातायातमा सुधार आवश्यक’

पूर्वाधारको अभाव र स्टन्टबाजीको आशंका बीच सार्वजनिक यातायात क्षेत्र सुधार गर्न यस्ता कदम आवश्यक रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर बताउँछन् ।

‘पर्याप्त पूर्वाधार नभएको विषयलाई सबैले आत्मसात् गर्नैपर्छ । तर, त्यसो भन्दैमा यातायात क्षेत्र सुधार गर्नेे कुरालाई रोक्न हुँदैन,’ अध्यक्ष स्वाँर भन्छन्, ‘त्यही पनि यो परीक्षण हो । यसको सम्भावना र भविष्य आगामी दिनले नै गर्छ ।’

उपत्यकाको सार्वजनिक यातायात सुधार गर्ने विषयमा योसँगै अन्य थुप्रै काम गर्न बाँकी रहेको उनी बताउँछन् । तत्काल गर्नुपर्ने कामका विषयमा उनले सरकारलाई सुझाव पनि दिएका छन् । उनको सरकारलाई प्रश्न छ– ‘मोटरसाइकल सार्वजनिक यातायात हो कि बस ? अनि रातो नम्बर प्लेट र कालो नम्बर प्लेटको व्यवस्था सरकारले केका लागि गरेको ?’

उनको सीधा निशाना थियो– इनड्राइभर, पठाओ, टुटलजस्ता राइड सेयरिङ एपतर्फ । उपत्यकाको जाम बढ्नुमा यस्ता राइड सेयरिङ सेवा पनि कतै न कतै जिम्मेवार देखिन्छन् । पिक आवरमा सडकभर मोटरसाइकल गुड्दा यसले उपत्यकाको सडक झन् अस्तव्यस्त बनाएको स्वाँरको बुझाइ छ ।

उपत्यकाको सार्वजनिक यातायातको क्षेत्र सुधार गर्ने हो भने सुरुमा सरकारले यस्ता विषयको व्यवस्थापन गर्नुपर्ने उनको माग छ । उनी सरकारलाई आग्रह गर्छन्, ‘हामी सरकारलाई जुनसुकै कुरामा सघाउन तयार छौँ । तर, सरकारले हाम्रो मागको सम्बोधन गर्नुपर्छ । होइन भने यो भद्रगोल कहिल्यै समेटेर सकिँदैन ।’