गौतम बुद्ध रंगशालाका लागि आएको १२ करोड बजेट फिर्ता, महानगरले तत्कालै बजेट जुटाउन नसक्ने

गौतम बुद्ध रंगशालाका लागि आएको १२ करोड बजेट फिर्ता, महानगरले तत्कालै बजेट जुटाउन नसक्ने


चितवन ।

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी। आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रंगशाला बनाउने बताइन् ।

उनले भनिन् “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रंगशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । उनले भनिन् “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।” रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको १२ करोड बजेट आएको तर १ हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन् ।

रंगशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौँ बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ ।

उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।