हेटौंडाको घटना सेलाउन नपाउँदै मोरङमा अर्का चिकित्सकमाथि हातपात

हेटौंडाको घटना सेलाउन नपाउँदै मोरङमा अर्का चिकित्सकमाथि हातपात


विराटनगर ।

हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको घटना सेलाउन नपाउँदै मोरङमा एकजना चिकित्सकमाथि दुव्र्यवहार एवं हातपात भएको छ ।

मोरङको सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवले बताए ।

डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात गरेका हुन् । शुक्रराजले ज्वरो आएको भन्दै बुवा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल पुर्याएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी सेवा बन्द थियो ।

तारिणीलाई दिउँसो १२ः३० बजेतिर आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारमा खटिएका डा. पोखरेलले जाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी गराएका थिए ।

त्यसपछि उनीमाथि बिरामीका छोरा शुक्रराजले गाली गदै हातपात गरेको मेसु यादवले बताए । त्यस क्रममा अरु बिरामीका कुरुवा र अस्पतालका सुरक्षा गार्डले रोकेका थिए ।

डा. यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो । उपचारमा संलग्न ड्युटीका चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ । डा. पोखरेलले आफूमाथि हातपात भएको बताए ।

शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ । डा। पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो ।