स्वास्थ्यमन्त्रीले भने- स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो

स्वास्थ्यमन्त्रीले भने- स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचारका लागि पुगेकी बालिकाको मृत्युमा स्वास्थ्यकर्मीको लापरबाही देखिएको बताएका छन्।

स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको देखिएकाले आफूले कारबाहीका लागि निर्देशन दिइसकेको मन्त्री बस्नेतको भनाइ छ।

शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताए। ‘कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो। मैले कारबाहीका लागि निर्देशन दिइसकेको छु,’ मन्त्री बस्नेतले भने।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले भदौ १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए। २ घन्टासम्म कुर्दा पनि उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको मृत्यु भएको थियो।