संविधान दिवसमा विभूषण र मानपदवी वितरण नहुने

संविधान दिवसमा विभूषण र मानपदवी वितरण नहुने


काठमाडौँ ।

हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचनारहित बनाउन सरकारले त्यससम्बन्धी सुझाव कार्यदल बनाउने भएको छ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसरमा विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आमअनुमानविपरीत सरकारले यसपालि त्यसलाई स्थगित गरेको छ।

मन्त्रिपरिषद बैठकको निर्णयमा भनिएको छ- “संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने ।”

विभूषणका लागि अयोग्यहरूले प्रभावका आधारमा मरिहत्ते गर्ने, विभूषित हुनुपर्नेहरूले भने त्यसको ओजलाई नै ‘सस्तो’ ठान्ने अवस्थाबीच हरेक चरणको विभूषण वितरण आलोचित हुँदै आएको छ। अब त्यसलाई नीतिगत रूपमै सच्याउन मन्त्रिपरिषद् निर्णयबमोजिम तत्कालै सुझाव कार्यदल गठन गरिने गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।