काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, छानबिन गर्न ५ सदस्यीय समिति गठन


काठमाडौं ।

काठमाडौँमा एक परिवारको सामूहिक हत्या भएको छ ।

तीनकुने, गैरीगाउँमा गएराति एकै परिवारका ३ जनासहित ४ जनाको सामूहिक हत्या भएको हो ।

प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० वर्षीय नवीन राईको पनि हत्या भएको छ ।

सो काठ मिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा सुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्न काठमाडौँ आएकी थिइन् । तर, शुक्रबार राति उनको पनि हत्या भएको छ ।

सो घटनामा संलग्नताको आरोपमा दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ, उनी सो हत्याभए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए ।

यसरी हत्या भएका चारै जनाको शव त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाका अनुसार राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

यस्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका प्रहरी प्रमुख एआइजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू रहेको समिति बनाएका हुन् ।