निर्माण सुरु भएको ७ वर्षमा छोसेरका १८६ घरमा पुग्यो खानेपानी 

निर्माण सुरु भएको ७ वर्षमा छोसेरका १८६ घरमा पुग्यो खानेपानी 


म्याग्दी ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ ।

चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।

७ वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब २ सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब १ करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म नामगेल गुरुङले जानकारी दिए ।

“१८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ”, उनले भने, ‘‘१२ वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । ७ वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।”

कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताए। ३० हजार लिटरको १ र २० हजार लिटर क्षमताका २ वटा ट्यांकी निर्माण भएको छ ।

समुद्री सतहबाट ४ हजार ५ सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ । १८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले बताए ।

“७ वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण २ वर्ष बजेट नआएपछि काम हुन सकेन”, उनले भने, “आर्थिक वर्ष २०७९/८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ । गत हप्तादेखि खानेपानी वितरण भएको छ ।” खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ । यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो ।

योजनालाई दिगोरूपमा सञ्चालन गर्न एक जना हेरालु राखिएको छ । सो योजनामा गत आर्थिक वर्षमा ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताए ।

उनका अनुसार चालु आवमा ६ लाख १७ हजार बराबरको काम भएको छ । कोरोना महामारीका कारण २ वर्ष काम नभएको र मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उनले बताए।