४ जना हत्या प्रकरण : थप एक जना पक्राउ

४ जना हत्या प्रकरण : थप एक जना पक्राउ


काठमाडौं ।

काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।

यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले यसअघि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थियो ।

हत्या गरिएको अवस्थामा भेटिएका चारै जनाको शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका छ ।