विपन्न नागरिकलाई धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने

विपन्न नागरिकलाई धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने


धनगढी ।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर नगरपालिकाले ५ हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवं वडा नम्बर-३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए ।

आर्थिक सहयोग प्रत्येक वडाका वडाध्यक्षको समन्वयमा उपलब्ध गराइने छ।

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए।