३ महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन्

३ महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुलेनन्


बागलुङ ।

३ महिनादेखि बन्द भएका ग्रामीण सडक अझै खुल्न सकेका छैनन् ।

बाढी र पहिराले अवरुद्ध बनेका सडक अहिलेसम्म सञ्चालन नहुँदा चाड पर्वका लागि सामान ढुवानीमा समस्या भएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार तथा आसपासका व्यापारिक केन्द्रदेखि गाउँ–गाउँ जोडिएका सडक गत असारदेखि नै बन्द भएका हुन् ।

ठूलो वर्षा हुन रोकिए पनि सडक सञ्चालन नहुँदा सामान ढुवानी र यात्रा गर्न समस्या भएको बडिगाड गाउँपालिकाका तिलबहादुर घर्तीमगरले बताए । चाडपर्व सुरु हुँदा पनि गाउँपालिकाले सडक खुलाउन चासो नदेखाएकाले बजारबाट सामान ढुवानी गर्न नसकिएकोे उनको गुनासो थियोे ।

“यस वर्ष पोहोर परार सालको जस्तो ठूलो वर्षा भएको छैन तर पनि बजारबाट आउने मोटरबाटोको धेरै ठाउँमा पहिरोले सडक ठप्प भएका छन्, सडक कहिले खुलाउँछन् थाहा छैन, तीजपछि दसैँ र तिहार पनि आउन थाले,” तिलबहादुरले भने, “बर्खाभरि घरमा भएका सबै सामान सकियो, बजारबाट बोकेर ल्याउनुपर्छ, गाडी चले त १÷२ घण्टामै गाउँमै सामान आउँथ्यो, सडक कहिले खुल्ने हो थाहा छैन ।”

बागलुङमा ३ वटा राष्ट्रिय सडक पर्छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडकले बागलुङमा विकासका थुप्रै सम्भावनाका ढोका खोले पनि लोकमार्गबाहेक अन्य मुख्य सडक बाह्रै महिना चल्दैनन् । कोरिडोर हिउँदमा चले पनि बर्खामा पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । सालझण्डी–ढोरपाटन सडक भने अहिलेसम्म सिधा सञ्चालन हुन सकेको छैन । बरेङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक बर्खाका कारण बन्द छन् ।

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई तत्काल उद्धार गरी अस्पताल पु¥याउन समस्या भएको स्थानीयवासी वीरबहादुर विकले बताए । उनले गाउँमा सडक आए पनि बर्खामा गाडी नचल्दा स्थानीयवासीले सास्ती खेप्नु परेको गुनासो गरे। अघिल्लो वर्षको जस्तो यस वर्ष धेरै सडकमा क्षति नभएधकाले पालिकाले केही ठाउँका पहिरो पन्छाए सहज रुपमा गाडी चल्ने गराउनुपर्नेमा बीरबहादुरले जोड दिए ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोले अवरुद्ध सडक अब तत्काल खुलाउने बताए । पालिकाका अधिकांश सडक सञ्चालनमा रहेको भन्दै उनले केही ग्रामीण सडक अवरुद्ध रहेकाले खुलाउनका लागि बजेटको व्यवस्था गरिसकेको र केही दिनमै काम सुरु हुने बताए ।