काठमाडौं–भक्तपुर द्रुत बसमा आज यात्रु चढ्न नपाउने, भाडा दर कति ?

काठमाडौं–भक्तपुर द्रुत बसमा आज यात्रु चढ्न नपाउने, भाडा दर कति ?


काठमाडौं ।

उपत्यकामा आजबाट पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ ।

संविधान दिवसको अवसर पारेर आज देखि उद्घाटन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी , सूर्य विनायक नगरपालिकाका मेयरहरू मात्र चढ्ने छन्।

अरू सार्वजनिक बसलाई रत्नपार्क–सूर्य विनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्य विनायक पुग्ने बताइएको छ ।

माइतीघर, कोटेश्वर , जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरूमा पनि द्रुत सेवाका बसहरू रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधवार उद्घाटनको दिन यात्रुहरू चढ्न पाउने छैनन् ।

यात्रुहरूका लागि भने भोली अर्थात् असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

रत्नपार्क–सूर्य विनायक रुटमा अरू सार्वजनिक बसहरूले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुले जानकारी दिए ।

विभागका अनुसार यस्ता बसहरूले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चार दोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरू बसहरू जस्तो द्रुत सेवाका बसहरूले यात्रुहरू कुरेर बस्ने छैनन्।

द्रुत सेवाका बसहरू रत्नपार्क र सूर्य विनायक दुवैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरू रातो रङ्गले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरूमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लागि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।