सरकारको ‘नालायकी’ले सास्ती खेप्दै नागरिक

सरकारको ‘नालायकी’ले सास्ती खेप्दै नागरिक

समय सकिन लाग्दा बल्ल १० प्रतिशत काम


काठमाडौँ ।

मुग्लिन–पोखरा सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा ४ लेनको बनाउन सुरु गरिएको सडकको काम कछुवाको गतिमा भइरहेको छ ।

पर्यटकीय क्षेत्र पोखरा पुग्ने मुख्य सडकको निर्माण कार्यमा ढिलाइ हुँदा दैनिक हजारौँ यात्रुले सास्ती भोगिरहेका छन् । विस्तारको काम व्यवस्थित नहुँदा धुलो र हिलोका कारण समस्या झन् थपिएको छ ।

यो सडकअन्तर्गत तनहुँ खण्डको सडकलाई पूर्वी खण्ड र पश्चिम खण्ड गरेर २ भागमा विभाजन गरी काम भइरहेको छ । तर, दुवै खण्डको प्रगति निराशाजनक छ ।

२०७८ वैशाख २ गते पूर्वी खण्ड र सोही वर्षको भदौ १२ गते पश्चिम खण्ड विस्तारको काम सुरु भएकामा अहिलेसम्म दुवै खण्डको भौतिक प्रगति समग्रमा १० प्रतिशत मात्र छ । आउँदो वर्ष अर्थात् २०८१ सालमा विस्तारको काम सकिने लक्ष्य लिइएकामा भौतिक प्रगतिका आधारमा यो आयोजना समयमै सम्पन्न नहुने लगभग पक्का छ ।

सडक ४ लेनको बन्दा दुईतर्फी २५/२५ मिटर फराकिलो हुने र बाक्लो बस्तीमा भने ४१ मिटर मात्र चौडा हुने गरी डिजाइन गरिए पनि ठेकेदारको ढिलासुस्तीका कारण फराकिलो सडकमा यात्रा गर्ने सपना तुहिँदै गएको छ ।

अनेक बहाना बनाएर काममा ढिलासुस्ती गर्ने ठेकेदारका अगाडि सरकार निरीह छ । काममा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो उल्टै म्याद थपेर प्रोत्साहन गर्ने सरकारको परिपाटी यो सडकमा पनि देखिने पक्का छ । पूर्वअध्ययन र सरोकारवाला र स्थानीय नागरिकसँग समन्वय नगरी हचुवाका भरमा काम थाल्दा बीचमा अवरोध आएर काम नै रोकिने रोग नयाँ होइन ।

पश्चिम खण्डमा जम्मा ९ प्रतिशत काम !

सो सडकको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म भित्ता काट्ने र वाल लगाउने काम चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले गरिरहेको छ । निर्माण कम्पनीले २०७८ जेठ २ गते ठेक्का पाई २०७८ भदौ १२ गतेदेखि काम सुरु गरेको थियो । सो खण्डको भौतिक प्रगति भने ९ प्रतिशत मात्र छ ।

उक्त खण्डको सडक २०८१ भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकामा यही गतिमा काम भए निर्धारित समयमा कुनै हालतमा निर्माण पूरा हुने देखिँदैन । सडकको प्रगति कम हुनुमा मुख्य जिम्मेवार ठेकेदार कम्पनी नै रहेको मुग्लिन–पोखरा (पश्चिम खण्ड) सडक योजना प्रमुख अमितकुमार श्रेष्ठ बताउँछन् ।

‘विस्तारको काम ढिला हुनुमा अन्य पनि सामान्य कारणहरू होलान्,’ श्रेष्ठले विकास टाइम्ससँग भने, ‘तर, मुख्यगरी ठेकेदार कम्पनीले नै समयमा काम नगरेर निर्माणमा ढिलाइ भएको हो ।’

पश्चिम खण्डको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको थियो । उक्त खण्डमा अहिलेसम्म १८ प्रतिशत रकम खर्च भएको मुग्लिन–पोखरा (पश्चिम खण्ड) सडक योजनाका सूचना अधिकारी नारायण पौड्यालले जानकारी दिए ।

पश्चिम खण्डमा गत वर्ष स्थानीयले सामान्य विरोज जनाए पनि काम नै अवरोध भने नभएको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् । ‘यहाँका स्थानीयले त्यस्तो ठुलो विरोध गर्नुभएको त होइन,’ श्रेष्ठले भने, ‘सामान्य विरोध जहाँ पनि हुन्छ, यो योजनामा पनि सामान्य विरोध मात्र हो ।’

स्थानीयले सडक विस्तार गर्दा धुलोले असर गरेको भन्दै विरोध जनाएको सूचना अधिकारी पौड्यालको भनाइ छ । ‘मुआब्जा नपाएको विषयमा पनि केहीले विरोध जनाउनुभएको थियो,’ पौड्यालले भने, ‘केहीले सिँचाइमा प्रभाव परेको भनेर पनि विरोध जनाउनुभएको थियो । तर कामै रोकिने गरी त्यस्तो केही भएको छैन ।’

आयोजना सुरु भएदेखि १५–२० वटा गुनासो आएको प्रमुख श्रेष्ठको भनाइ छ । तर, ती गुनासो समाधान भइसकेको आयोजनाले जनाएको छ ।

स्थानीय स्तरबाट आएको अवरोध समाधान गर्नका लागि ३ तहको कमिटीले काम गर्ने प्रमुख श्रेष्ठको भनाइ छ । ‘हामीसँग ३ तहको कमिटी छ, त्यही कमिटीले आयोजनामा आएको विरोध समाधान गर्ने हो,’ श्रेष्ठले भने, ‘त्यहाँबाट पनि समाधान हुन सकेन भने सम्बन्धित विभागमा लिएर जान्छौँ ।’

मुआब्जाको विषयमा विगतमा समस्या भए भए पनि अहिले समाधन भएको पौड्याल बताउँछन् । ‘मुआब्जाको समस्या आएको ठाउँमा नापी विभागसँग समन्यव गरेर नापीको काम भइरहेको छ,’ उनले भने, ‘सिँचाइको समस्या पनि अहिले समाधन भइसकेको छ ।’

पूर्वी खण्ड पनि उही गतिमा !

आँबुखैरेनीदेखि जामुनेसम्म ४१.४५ किमीको पूर्वी खण्डको ३ ठुला र ४ वटा साना पुल निर्माण गर्नुपर्ने छ । सो खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाई काम गरिरहेको छ । २०७७ माघ १७ गते ठेक्का पाई २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको निर्माण कम्पनीको पनि भौतिक प्रगति सन्तोषजनक छैन ।

२०८१ वैशाख सम्ममा निर्माण सम्पन्न गर्ने भनिएको खण्डको हालसम्मको भौतिक प्रगति ३३ प्रतिशत मात्र छ । नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको भए पनि यो खण्ड निर्धारित समयमा सम्पन्न हुने देखिँदैन ।

कोभिडका करणले सुरुका वर्षमा काम गर्न नसकेकाले आयोजनामा ढिलाइ भएको मुग्लिन–पोखरा (पूर्वी खण्ड) सडक योजनाका इन्जिनियर विष्णु पाण्डे बताउँछन् । ‘पछिल्लो वर्षको प्रगति हेर्दा पनि राम्रो छ,’ पाण्डेले भने, ‘अब सरासर योजना अगाडि बढ्छ ।’

पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का लागेको थियो । आयोजनामा करिब २० प्रतिशत खर्च भएको इन्जिनियर पाण्डेले जनकारी दिए ।

आयोजनाको काम रोकिने खालको अवरोध कुनै नभएको पाण्डेको भनाइ छ । ‘कोभिडको कराणले गर्दा काममा अवरोध भयो,’ पाण्डेले भने, ‘बजार क्षेत्रमा पर्ने घरहरू भत्काउन समय माग गरेका कारण पनि केही अवरोध भएको थियो ।’ बिजुलीका पोलहरू समयमा नसारिएका कारण पनि विगतमा समस्या आएको उनको भनाइ छ ।

अहिलेको अवस्थामा आयोजनामा कुनै पनि समस्या नभएको पाण्डेको भनाइ छ । ‘विगतमा समस्या भएको थियो । तर, अहिले त्यस्तो केही समस्या छैन,’ पाण्डेले भने, ‘बिजुलीको पोल सार्ने कुरामा पनि सडक विभाग र विद्युत् प्राधिकारणले आधा–आधा खर्चमा काम गर्ने सहमति भएपछि त्यो पनि समाधान भएको छ ।’

सडक विस्तारको काममा किन ढिलाइ भएको भनेर विकास टाइम्सले निर्माण कम्पनीका कन्सल्टेन्टलाई बारम्मबार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

वैकल्पिक मार्ग प्रयोग गर्दै यात्रु

मुग्लिन–पोखरा सडक विस्तारको काममा ढिलाइ हुँदा जनताले सास्ती भोगिरहेका छन् । सडकमा सामान्य खाल्डाखुल्डी समेत नपुर्दा दुर्घटनासमेत हुने गरेको व्यास नगरपालिकाकी उप–प्रमुख इन्दिरा दरै बताउँछिन् ।

‘सडक विस्तार ढिला भएकाले यहाँका जनताले दुःख पाउने नै भए,’ दरैले भनिन्, ‘सामान्य खाल्डाहरू नपुर्नाले गर्दा दुर्घटनाका घटनाहरू पनि बढिरहेका छन् ।’

पानी परेका बेला हिलो र सुख्खा भएको बेला धुलोले त्यहाँका बासिन्दादेखि यात्रुले समेत सास्ती भोग्दै आएको दरै बताउँछिन् । ‘हामीले नगरपालिकाको तर्फबाट पनि चाँडो काम गर्न दबाब दिइरहेका छौँ,’ उनले भनिन्, ‘उहाँ (निर्माण कम्पनी)हरूले स्थानीयको अवरोध र बिजुलीको पोल नसारिएकाले काम ढिलो भएको भन्ने गर्नुभएको छ ।’

बिजुलीको पोल सार्न ढिलाइ भए पनि स्थानीयको अवरोध भने नभएको दरैको भनाइ छ । केही ठाउँमा मुआब्जा नपाएको भनेर केही समस्या भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

सडक ढिला निर्माण हुँदा सडकको अवस्थाले स्थानीय आजित भएको व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले बताउँछन् । हड्खले पनि उपमेयर दरैले भनेकै समस्या रहेको बताउँछन् ।

‘दमौलीबाट खैरेनीटारतर्फ र डुम्रेतर्फ जानुपर्दा धुलोले मान्छे चिनिँदैन,’ हड्खलेले भने, ‘धुलाम्य बाटोले यस ठाउँका बासिन्दा हैरान छन् ।’ सडक बेलामा नबन्दा पर्यटक कम आउन थालेको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित बताउँछन् । ‘पर्यटक यो बाटो हिँड्न सक्ने अवस्था छैन, धेरै धुलो उड्ने भएकाले अन्य वैकल्पिक राजमार्गहरू प्रयोग गर्न थालेका छन्,’ पण्डितले भने, ‘बजारको व्यवसाय चौपट भएको छ ।’

मन्त्रीहरू यही बाटो हिँड्ने भए पनि आयोजनामा भएको ढिलाइबारे कुनै वास्ता नगरेको उनको गुनासो छ । सडक समयमा नबन्दा शुक्लागण्डकी नगरपालिका अन्य पालिकाभन्दा बढी मारमा परेको उनको भनाइ छ ।

समयमा सडक नबनेपछि स्थानीयले समस्या भोग्नुपरेको आँबुखैरेनी गाउँपालिकाकी उप–प्रमुख दुर्गा अर्याल बताउँछिन् । ‘सडक समयमा नबन्दा धेरै समस्या भोग्नुपरेको छ,’ अर्यालले भनिन् ।