बालेनलाई ‘हेडसरहरू’काे काउन्टर : आन्दोलनमा आउन शिक्षकहरूलाई उर्दी !

बालेनलाई ‘हेडसरहरू’काे काउन्टर : आन्दोलनमा आउन शिक्षकहरूलाई उर्दी !


काठमाडाैँ ।

आन्दोलनका नाममा काठमडौँका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याए शिक्षकहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनीलाई चुनौती दिँदै प्रधानाध्यापकहरूले आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई उर्दी नै जारी गरेका छन् ।

बुधबार काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त प्रेस विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराएका हुन् । ३० जना प्रधानाध्यपकहरूले उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले देशैभरका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनी सुरु गरेको कार्यक्रमलाई समर्थन गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले निर्णय गरेकाले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक/कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गरिने कुरा विज्ञप्तिमा जनाइएको छ ।

उता, काठमाडौँका मेयर बालेन शाहले आजै पढाइ अवरोध भएमा कारबाही गर्ने भन्दै चेतावनी दिएका थिए । विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याउनेलाई कानुन (संविधान) अनुसार कारबाही हुने उनले बताइसकेका छन् ।