श्रमदान गरेर कागबेनीमा अस्थायी पुल निमार्ण

श्रमदान गरेर कागबेनीमा अस्थायी पुल निमार्ण


बागलुङ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ ।

कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार गर्न थालेका हुन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका पाक्लिङ, कागबेनी, तिरी गाउँका स्थानीयले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए। यसले कागबेनी–तिरी गाउँ जोड्ने छ ।

कालीगण्डकी नदीमा पानीको बहव घटेपछि स्थानीयले अस्थायी पुल निर्माण गरी वारपार गर्न थालेका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले क्षति पुर्‍याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो ।

पुल ३ गाउँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको भन्दै आवश्यक बजेट पालिकाले व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताए । कागबेनी–तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण गर्न आवश्यक रहेको भन्दै उनले यसका लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने बताए ।

गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झेलुंगे पुल बगाएको थियो ।