एकदिनमा १० वटा डोका बुन्छन् ७० वर्षीय तामाङ, महिनामै कमाउछन् ३५ हजार

एकदिनमा १० वटा डोका बुन्छन् ७० वर्षीय तामाङ, महिनामै कमाउछन् ३५ हजार


भोजपुर ।

भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए। एकदिनमा ८ देखि १० ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए ।

“४० वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु”, उनले भने, “एक दिनमा ८ देखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।” डोका स्थानीय बजारमा प्रतिगोटा ३५० देखि ४ सयसम्ममा बिक्री हुने तामाङले बताए । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक ७÷८ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उनले बताए ।

“मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ”, उनले भने, “गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पुर्‍याउन समस्या हुन्छ ।” आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उनको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट ५ देखि ६ घण्टासम्म लाग्ने उनले बताए ।

“डोकाको माग धेरै ठाउँबाट आउँछ”, उनले भने, “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ÷गाउँबाट मानिस आउँछन् ।”

सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ ।

“नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्”, उनले भने, “डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।” प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।

“पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ”, उनले भने, “मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।”

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताए । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उनको भनाइ छ ।