बझाङमा ठुला २ पछि १० पटक भूकम्पको धक्का, एक महिला वेपत्ता

बझाङमा ठुला २ पछि १० पटक भूकम्पको धक्का, एक महिला वेपत्ता


काठमाडौं ।

बझाङका भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने ।

कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।

यस्तै एक महिला वेपत्ता भएपछि जिल्ला विपत व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार बिहानसम्म भूकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् ।

एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका(११ ओखल घर भएकी अन्दाजी ४०र४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । उनी टिमुर टिप्न भन्दै जंगल गएकी थिइन् । त्यहीबेला माथिबाट खसेको पहिरोमा उनी परेकी थिइन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।