अव रुगाबासीले नदीको पानी पिउन पर्दैन

अव रुगाबासीले नदीको पानी पिउन पर्दैन


असोज ।

वर्षौंदेखि नदीको पानी पिउँदै आएका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १३ स्थित रुगा गाउँका नागरिकहरूका घरघरमा धारा पुगेको छ ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत नगरपालिकाको पहलमा जनताका घरमा पानी खानेपानीको धारा पुगेको हो ।

प्रत्येक निर्वाचनका समयमा खानेपानी पुर्‍याउने राजनीतिक दलका नेताको प्रतिबद्धता रहँदै आएको भए पनि यसपटक भने नागरिकले खानेपानीको धारा पाएपछि एक आपसमा खुशी साट्न पाएका छन् भने वर्षौंदेखि नदीको पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

छायाँनाथ नगरपालिकाले सात किलोमिटर परबाट गाउँसम्म पानी ल्याउन सफल भएको नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिए । उनका अनुसार ३८ लाख ३४ हजार ४६ लगानीमा रुगा गाउँमा ‘एक घर, एक धारा’ अभियान सम्पन्न भएको ।

रुगा गाउँ दलित बाहुल्यता रहेको बस्ती हो । यहाँ १०५ वटा धाराहरू निर्माण गरिएका छन् । सुक्खा र भिरालो जमिन भएका कारण गाउँ नजिकै कुनै पनि पानीको मुहान फेला पार्न नसक्दा वर्षौंदेखि खानेपानी उपलब्ध हुन सकेको थिएन । यहाँका मानिसहरू घण्टौं हिँडेर नदीको पानी ल्याएर पिउन बाध्य थिए ।

घरघरमा धारासहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीय बासी दङ्ग छन् । स्थानीय बलबहादुर थापाले गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको बताए । पानीको अभावमा सबैभन्दा बढी महिला,बालबालिकाहरूलाई राहत मिलेको छ । उनले सहजरूपमा पानी उपलब्ध नहुँदा पिउन, खेतवारीमा प्रयोग गर्न र सरसफाइमा समस्या भएको थियो तर अहिले धारामा पानी आउन थालेको छ, सहज भएको छ ।

‘हामी महिलाहरूलाई लुगा धुन, भाँडा सफा गर्न, नुहाउन र बाल बच्चालाई सफा सुग्घर गर्न पानी बढी नै चाहिने भएकाले पानी बोक्न धेरै समस्या थियो । अब धेरै सजिलो भएको छ,’ स्थानीय महिला हरिकन्या नेपालीले भनिन्, ‘आफ्नै खेतबारीमा तरकारी खेती गरेर अब आम्दानीसमेत गर्न सहज हुन्छ ।’