धार्मिक द्वन्द्वकाे संकेत देखियाे : गृहमन्त्री

धार्मिक द्वन्द्वकाे संकेत देखियाे : गृहमन्त्री


महाेत्तरी ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनितिको मुख्य कार्यभार भएको बताएका छन् ।

बलिदानिपूर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भड्काउने चलखेल भएको बताउँदै गृहमन्त्री श्रेष्ठले नेपाली जनताको समृद्धिका लागि संघीय गणतन्त्र जरुरत भएको बताए ।

मधेस प्रदेशको सुरक्षा चुनौतीको विषयमा छलफल गर्न महोत्तरी आएका गृहमन्त्री श्रेष्ठले धार्मिक स्वतन्त्रतमा समेत खलल पुर्‍याउने काम भइरहेको धारणा राख्दै बहुजाति, बहुभाषी, बहुधर्म तथा विविधताबीचको अनेकतामा गम्भीर समस्या आएकाे विषयमा सरकारको ध्यानाकर्षण भइरहेको बताए ।

‘धार्मिक मुद्दाहरूमा कहिल्यै द्वन्द्व नभएको मुलुकमा द्वन्द्व निम्त्याउने केही संकेत देखिएका छन्,’ उनले भने, ‘त्यसैले एकता, सौहार्द्रता र सहिष्णुतालाई जोगाउने महत्वपूर्ण मुद्दा बनिरहेको छ ।’

सामाजिक एकता कायम गरेर त्यसकाे जगमा राष्ट्रिय एकता बलियो बनाए मात्र मौलिक मूल्य र संस्कृतिको जगेर्ना हुन सक्ने बताउँदै गृहमन्त्री श्रेष्ठले सबै जना गम्भीर हुन पनि अनुरोध गरे ।

समाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउने दिशातर्फ नलाग्न र विविधताबीचको अनेकतामा गम्भीर बन्न उनले आग्रह गरे ।

कमजोर राष्ट्रियताको जगमा सुशासन र सामाजिक न्याय स्थपना गर्न समस्या बन्न सक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री श्रेष्ठले यसका लागि सरकार कानुनको पालना गर्न र गराउन दृढ रहेको जिकिर गरे ।

छलफलमा सहभागी मधेस प्रदेशका कार्यावाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले गृह मन्त्रालयवाट सुशासन स्थापनाका निमित्त धेरै प्रयास भएको भन्दै प्रशंसा गरेका थिए ।