हुम्लाका बस्तीमा सडक सञ्जाल जोडिएपछि यातायात कार्यालय सञ्चालनमा आयो

हुम्लाका बस्तीमा सडक सञ्जाल जोडिएपछि यातायात कार्यालय सञ्चालनमा आयो


काठमाडौं ।

कुनै बेला अतिदुर्गम मानिएको कर्णाली प्रदेशको हुम्ला जिल्लाका विभिन्न बस्तीमा पछिल्लो समय धमाधम सडक सञ्जाल जोडिन थालेपछि चहलपहल बढेको छ ।

मानिसहरू एक स्थानबाट अर्को स्थानमा जाने क्रम पनि बढ्दो क्रममा छ । यसका लागि सडक सञ्जालले सहयोग गरेको छ ।

चहलपहल बढ्न थालेपछि दसैँ र तिहारलाई मध्यनजर गर्दै हुम्लाको चंखेली गाउँपालिका–२ मा छायानाथ यातायात प्रालिले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

विगतमा औषधोपचार गर्न र आफन्त भेटघाट गर्न मुगु जिल्लाको सदरमुकाम गमगढी बजारसम्म पुग्न २ दिन लाग्ने गर्थ्यो । अचेल भने गमगढीबाट हुम्लाको चंखेली, लोतीसम्म जिप चल्न थालेको छ ।

यसले गर्दा एक गाउँबाट अर्को गाउँ जान र मुगुको सदरमुकाम गमगढी पुग्न सहज भएको छ । गमगढी पुग्न अब ४ घन्टाको यात्रा गरे पुग्ने भएको चंखेली गाउँपालिका नेपाली कांग्रेसका गाउँ सभापति नरबहादुर भण्डारीले बताए ।

छायानाथ यातायात प्रालिले दैनिक ५–६ वटा जिप चलाउन थालेपछि सहज भएको उनको भनाइ छ । स्थानीय स्तरमै शाखा स्थापना गरी दैनिक साना गाडी चल्न थालेपछि निकै सहज भएको स्थानीय भीमबहादुर शाहीले बताए । भाडा भने अलि महंगो भएको उनको गुनासो छ ।

हुम्लाबासीलाई सहज होस् भनेर चंखेली गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरी ६०–६२ किलोमिटर दुरीसम्म दैनिक ५–६ वटा साना गाडी सञ्चालन गरिएको छायानाथ यातायातले जनाएको छ ।

उक्त यातायातको गमगढीमा प्रधान कार्यालय एवं अन्य जिल्ला र जिल्लाभित्रै गरी ७ वटा शाखा कार्यालय सञ्चालनमा छन् । कर्णाली राजमार्गको नाग्मदेखि गमगढी बजारसम्म अस्थायी रुट परमिटमा सवारी चल्दै आइरहेको छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताए ।

२ वर्षअघि ग्रामीण पहुँच रेया थ्रीले निर्माण गरेको सडकमा गाडीहरू गुडिरहेका छन् । बीच–बीचमा वर्षाले बिगारेका कारण कतिपय सडकखण्ड अव्यवस्थित छन् । त्यस्ता स्थानमा स्थानीय तहले मर्मत र प्रदेश सरकारले सडक व्यवस्थित गरिदिए यात्रा गर्न सहज हुने स्थानीय बासिन्दाको भनाइ छ ।