८० प्रतिशत हवाई टिकट सकियो, धनगढीको भाडा १७ हजार

८० प्रतिशत हवाई टिकट सकियो, धनगढीको भाडा १७ हजार


काठमाडौं ।

बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् ।

नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गत वर्षको दसैँमा १७ हजार छ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ ।

“अघिल्लो वर्ष महङ्गो टिकट खरिद गरेर दसैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दसैँको संघारमा अब झन् टिकट पाउन सास्ती हुन्छ”, जोशीले भने । महङ्गो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।

धनगढीकी निशा पाण्डे यतिखेर दसैँको टिकट जोहोका लागि एयरलाइन्स धाइरहेका छन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाए । खोटाङकी दीपा राई दसैँमा घर जानका लागि हवाई टिकटको खोजीमा छन् । “जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दसैँमा कसरी घर पुग्ने हो चिन्तित छु”, उनले भने ।

दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ । दसैँ आउन दुई साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उनले बताए ।

सामान्यतया दसैँ आउन एक महिनाअघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिए । “दसैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ”, उनले भने, “अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।”

धनगढीका लागि १७ हजार बढी भाडा

बुद्ध एयरका अनुसार दसैँको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक छ ।

त्यस्तै सुर्खेतको महङ्गो १४ हजार एक सय ६८, नेपालगञ्जको महङ्गो भाडादर १३ हजार तीन सय ९४ रहेको छ । काठमाडौँदेखि भ्रद्रपुरको भाडादर अधिकतम १२ हजार तीन सय ८३ तोकिएको छ । उक्त गन्तव्यको सहुलियत भाडादर ८ हजार एक छ ।

आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

असी प्रतिशत बुकिङ

बुद्ध एयरको विभिन्न गन्तव्यमा ८० प्रतिशत हाराहारी बुकिङ भएको छ । यती एयरलाइन्सले आफ्नो करिब ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एयरलाइन्सको पनि सोही हाराहारीमा बुकिङ भइसकेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताउनुभयो ।

विगतमाजस्तो यस पटकको दसैँमा यात्रुले टिकट पाउन समस्या नहुने उहाँको भनाइ छ । श्री एयरलाइन्सले ‘ड्यास एट’ चार थान जहाजले आन्तरिक उडान गर्दै आएको छ । आन्तरिक उडानका सौर्य एयरलाइन्स र समिट एयरले पनि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जनाएका छन् ।