बझाङका भूकम्प पीडितलाई अस्थायी घर बनाउन सरकारले तत्काल ५० हजार दिने

बझाङका भूकम्प पीडितलाई अस्थायी घर बनाउन सरकारले तत्काल ५० हजार दिने


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई अस्थायी घर बनाउन तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार बझाङकाे भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका प्रचण्डले यस्ताे घोषणा गरेका हुन् ।

प्रभावित अन्य परिवारलाई १५ हजारदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहालको भनाइ छ। त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको उनले बताए।

भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले नि:शुल्क उपचार गर्ने प्रधानमन्त्री दाहालले बताए । ‘भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिपरिवार तत्काल २ लाख रुपैयाँ उपलब्ध गराइनेछ,’ उनले भने ।

तीनै तहको सरकारको समन्वयमा क्षति मूल्याङकन गरी कार्यविधि बनाएर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डसँगै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि बझाङ गएका छन् ।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।