प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरु : चित्रबहादुर केसी

प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरु : चित्रबहादुर केसी


काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाज नमानि संघीयता खारेजी गर्नुपर्ने दोहोर्‍याएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे ।

उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ । बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पाद मचिन्छ । कतिचोटी त्यहाँ सरकार बने, कति भत्किरहेछन् । यो जात्रा देख्न र सुन्न नेपाली जनताले परेको छ । तैपनि मान्यहरुले संघीयताको मुरली बजाइरहन्छन् । संघीयताले गरेर खाएन अब ।’

उनले संघीयतामा अनावश्यक खर्च भएकोप्रति व्यङ्ग्य गर्दै थपे, ‘देख्नुभएन, मुख्य मन्त्रीहरुलाई काठमाडौं भैंसेपाटीमा दरबार बनाउने हो ? उहाँहरु प्रदेशबाट यहाँ बास बस्नपर्ने कठैबरा ! अवस्था यही हो अब चल्छ संघीयता ? सक्नुहुन्छ तपाइँहरुले धान्न ? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगर र गाउँपालिकालाई अधिकार दिऔं । हामीले जति घोक्रो फुलायपनि नेपाली जनतालाई संघीयता मान्य छैन भनेर कोशीमै देखाइराखेका छौं ।’