काेसीकाे मुख्यमन्त्रीमा कार्की नियुक्त, भाेलि शपथ

काेसीकाे मुख्यमन्त्रीमा कार्की नियुक्त, भाेलि शपथ


विराटनगर।

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतमा उनकाे पक्षमा बहुमत जुटेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सनाखतका क्रममा कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए ।

शुक्रबार दुवै आकांक्षीको पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।

कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो।

कांग्रेसका विद्रोही सांसदहरूले आफूहरूको हस्ताक्षर आङ्बोले दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताएका थिए । आफूहरूको समर्थन कार्कीलाई रहेको उनीहरूले स्पष्ट पारेका थिए। प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउँदा कार्कीलाई कांग्रेसका शमशेर राई, रामकुमार खत्री, लीलाकुमारी राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङले साथ दिएका थिए ।

मुख्यमन्त्री कार्कीले आइतबार शपथ लिनेछन् ।