केपी ओली भेट्न बालकोट पुगे कोसीका मुख्यमन्त्री

केपी ओली भेट्न बालकोट पुगे कोसीका मुख्यमन्त्री


काठमाडौं ।

कोसी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस सांसद् केदार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन्।

शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका उनी आज बिहान बालकोट पुगेका हुन्। शनिबार काठमाडौं आएका कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई निवासमै गएर भेटेका थिए। स्रोतका अनुसार कार्कीलाई देउवाले गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले कार्कीलाई बालकोटमा मुख्यमन्त्री भएकोमा बधाइ तथा शुभकामना दिए।

उनले पार्टीभित्रै गलत कदमका विरुद्ध उभिन सकेकोमा पनि कार्कीलाई बधाइ समेत दिए। उनले कोसी प्रदेशमा भएको असंवैधानिक राजनीतिलाई अबको नेतृत्वले सच्याउने आशा व्यक्त गरे। सरकार विस्तार लगायतका काम पनि मिलेर गर्न अध्यक्ष ओलीले सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनयिताको सपथ ग्रहण गरेर मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार कांग्रेसको विद्रोही पक्षबाट एक जना र एमालेबाट एकजना मन्त्री बनाउने तयारी भइरहेको छ। कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कुनै पनि सांसदले बहुमत जुटाएर मुख्यमन्त्री बन्न पाउने प्रावधान अनुसार कोसीको मुख्यमन्त्री नियुक्त भएका हुन्।

‘सम्भवतः उहाँले आज अस्ती समर्थन दिने नेपाली कांग्रेसका ८ जना मध्येबाट बढीमा २ जनालाई मन्त्री बनाउनुहुनेछ। गठबन्धनका अरू नेताहरूलाई कसरी सहभागी गराउने भन्नेबारेमा विस्तारै छलफल हुँदै जान्छ,’ कांग्रेसका एक पदाधिकारीले भने।

यसअघि एमाले कार्की नेतृत्वकै सरकारमा आजै सहभागी हुने तयारी गरेको थियो। तर कांग्रेस र एमाले बाहेक अरू दललाई पनि समेटेर सरकार बनाउने हो भने आफूहरू सहभागी नहुने कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।