मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा : पूर्वअर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा : पूर्वअर्थमन्त्री पौडेल


लुम्बिनी ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बताएका छन्।

सरकारको गलत नीति र कार्यक्रमका कारण नेपालको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भन्दै यस्तो अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताए।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री आफैंले मुलुकको अर्थतन्त्र संकटको डिलमा पुगेको बताउँदै आएपनि बिग्रिँदै गएको अर्थतन्त्रको निकास खोज्नेतर्फ भने कुनै योजना बनाउन नसकेको बताए।

‘अहिले मुलुक असाधारण संकटको अवस्थामा पुगेको छ, प्रधानमन्त्री आफैंले संकटमा पुगेको अर्थतन्त्रको सामान्य उपचार गरेर मात्र हुँदैन त्यसको लागि ठूलै अप्रेशन गर्नुपर्ने बताउँदै आउनुभएको छ, सरकारले अर्थतन्त्र सुधारका लागि अप्रेसन गर्ने त टाढाको कुरा सामान्य उपचार गर्ने समेत योजना बनाउन सकेको छैन,’ पौडेलले भने।

पौडेलले निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानी समेत दिन नसक्ने गरी मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको दोहोर्‍याए। वर्षौंसम्मको संघर्ष पछि जारी गरिएको संविधानले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएपनि संविधान पालना नगरेको संकेत गरे।

देशमा आर्थिक विकास, समृद्धि र सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाङहरू हुँदासमेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको उनको भनाइ थियो।

‘अहिले सरकारसँग संचालन खर्च समेत नरहेकाले कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ, निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न सकिरहेको छैन, पेन्सन र सामाजिक सुरक्षा भत्ता खुवाउन आन्तरिक ऋण लिनुपर्ने अवस्था छ, यो सबै सरकारकै गलत नीति र रवैयाले निम्त्याएको अवस्था हो,’ पौडेलले भने।

सरकारले जघन्य अपराधमा संलग्नहरूलाई आममाफी दिँदा अपराधीहरूको मनोबल बढेको उल्लेख गर्दै सरकारका यस्तै रवैयाले नेपाल बदनाम भइरहेको बताए।

‘मुलुक तस्करीको थलो बनिरहेको छ, जघन्य अपराधका घटनामा दोषी ठहर भएकाहरूलाई सरकार आफैंले आममाफी दिएर फुलमाला लगाइदिएर कारागारमुक्त गराइरहेको छ। यस्ता घटनाले नेपाललाई बदनाम बनाइरहेको छ,’ पौडेलले भने।

नेता पौडेलले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा विपरीत राजनीति गरेको आरोप लगाए।

अर्को प्रशंगमा नेता पौडेलले नेपाल जातजाती, भाषाभाषी र धार्मिक रूपमा विविधता भएको देश भएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा भाषाभाषी, जातजाती र धार्मिक समुदायलाई समेत लडाउन खोज्ने षड्यन्त्र भइरहेको बताए।

नेपालीहरूका बीचमा द्वेष फैलाउने र नेपाललाई नै कमजोर बनाउन खोज्नेहरूका षड्यन्त्रलाई तोड्नुपर्ने अहिलेको गम्भीर प्रश्न रहेको उनले बताए।