‘गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्छ’

‘गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्छ’


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार गरेको ‘बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका’ अन्तरक्रियामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको समेत बताएका छन् ।

‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गरे।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।

आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गेएर सफलता प्राप्त गरेको बताए ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’