पहिलो गैरआवासीय नेपाली नागरिकता कुल आचार्य र बद्री केसीलाई

पहिलो गैरआवासीय नेपाली नागरिकता कुल आचार्य र बद्री केसीलाई


काठमाडौं ।

सरकारले गैरआवासीय नेपालीलाई आज (मंगलबार) देखि नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारस्थित निवासमा आज बिहान एनआरएनएका पदाधिकारीलाई नागरिकता दिएर वितरणको शुभारम्भ गरेका हुन् ।

कुल आचार्य र बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता पाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आचार्य र केसीलाई प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकको नागरिकता प्रदान गरे ।

आचार्य र केसी गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष हुन् ।

अब अन्य गैरआवासीय नेपालीहरुले पनि नागरिकता पाउने बाटो खुलेको छ । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले यसअघि नै नागरिकता नियमावली स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यो नागरिकता पाउनेले नेपालमा राजनीति गर्न, सरकारी पदमा बस्न र मतदानको अधिकार पाउने छैनन् । उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने छन् ।