भारतीय राजदूतावासको सहयोगमा हुम्लामा बने २ विद्यालय भवन

भारतीय राजदूतावासको सहयोगमा हुम्लामा बने २ विद्यालय भवन


काठमाडौ । भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो । भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो । दुवै विद्यालय भवन आजै औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।